Logo

ओलीपथमा बादल : राजनीतिमा जब मित्र शत्रु बने



राजनीतिक विश्लेषण । सत्ता र शक्तिको लागि शक्तिसंघर्ष हुँदा तेरो र मेरो नहुने तथ्य नेपाली राजनीतिमा बेला बेलामा देखिदै आएको हो । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन । नेपाली राजनीतिमा हिजो टाउकाको मूल्य तोक्नेहरुले मूल्य तोकिएकासँग मिलेर प्रधानमन्त्री आलोपालो खाएकै हुन् । पञ्चायतकालमा पटक पटक प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बहुदलमा प्रधानमन्त्री हुँदा भनेका थिए,‘राजनीति सम्भावना नै सम्भावनाको खेल हो ।’

‘मुठभेड’ले तरंग

अहिले देश एउटा ‘मुठभेड’ को घटनाले तात्तिएको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेको इन्काउन्टरलाई लिएर सत्ता पक्षका नेताहरुबीच विवाद उत्पन्न भएको छ । कुनैबेला माओवादी कार्यकर्ता पौडेलको इन्काउन्टर पूर्व माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री हुँदा भएको छ ।

संसदको राज्य व्यवस्था समितिमा जवाफ दिदै बादलले प्रहरीको बचाऊ गरे । उनले पौडेल मुठभेडमा मारिएको दाबी गरे । तर, उक्त घटनाबारे छानविनको विषय जोडतोडले उठेको छ । पौडेल मात्र नभई पछिल्लो समय मारिएका विप्लवको कार्यकर्ताको बारे गम्भीर आशंका उत्पन्न भएका छन् ।

कुनैबेलाका आफ्नै कार्यकर्ताविरुद्ध बादल कडा बन्दै गएका छन् । उनले विप्लवमाथि कडा नीति लिने अभिव्यक्ति धेरै अघि देखि दिदै आएका थिए । पछिल्लो घटनाहरु घट्न सक्ने संकेत गरिसकेका बादलले कुनैबेलाका मित्र विप्लव र उनका कार्यकर्ताविरुद्ध कठोर नीति लिएर राजनीतिमा स्थायी शत्रु र मित्र नहुने तथ्यलाई प्रमाणित गरेका छन् ।

मित्र बने शत्रु

बादल र विप्लव लामो समय सँगै काम गरेका हुन् । माओवादीको दश वर्षे सशस्त्र गतिविधिमा उनीहरुबीच मित्रता नै थियो । माओवादी फुट्दा बनेको मोहन वैद्य किरण समूहमा बादलसँगै विप्लव पनि थिए । विप्लवले वैद्य समूहबाट पनि विद्रोह गरे । बादल प्रचण्डसँग पुनः हातेमालो गरेर फर्किए । विप्लव विद्रोही बनिरहे ।

बादल र विप्लवबीच वैद्य समूहबाट विप्लव अलग हुँदा देखि दूरी बढेको हो । विगत पाँच वर्षयता मात्र दूरी बढेपनि दुवैले लामो सहकार्य गरेका थिए । यति लामो सहकार्य गरेका नेताहरु अहिले शत्रु जस्तै बनेका छन् ।

शत्रु बने मित्र

बादलले कुनैबेला केपी शर्मा ओलीलाई प्रमुख शत्रुका रुपमा इंकित गरेका थिए । तत्कालिन नेकपा एमालेका नेता ओली माओवादीप्रति निकै कडा अभिव्यक्ति दिन्थे । बादल उग्र माओवादीमा गनिन्थे । एक अर्कालाई शत्रु जस्तै ठानेर राजनीतिक शक्तिसंघर्ष हुन्थ्यो ।

समय बदलिएको छ । बादल प्रचण्ड अध्यक्ष रहेको माओवादी पार्टीमा फर्किएर नेकपा एमालेसँग एकता हुँदा सम्म यु टर्न भइसकेका थिए । उनले एकतामा सहयोगी भूमिका खेले ।

बादल पछिल्लो समय ओलीसँग निकै नजिक हुँदै गएका छन् । उनको प्रचण्डसँग दूरी बढिरहँदा ओलीसँग निकटता बढिरहेको छ । ओलीले बादलको कामकारबाहीमा खासै हस्तक्षेप गरिरहेका छैनन् । प्रहरी बढुवा र सरुवामा ओलीले बादललाई छाडिदिएका छन् । उनले त्यसमा आफ्नो स्वार्थ देखाइरहेका छैनन् ।

ओलीपथमा बादल

ओलीको नजिक पुग्दै गर्दा बादलले ओलीपथमा आफूलाई चलाउन थालेका छन् । ओली जहिले पनि उग्र कम्युनिष्टप्रति कठोर थिए र अहिले पनि छन् । उनीहरुप्रति कठोर बन्नुपर्ने मान्यता राख्थे र राख्दै आएका छन् । ओलीको नीति अनुसार बादल विप्लव समूहप्रति कठोर बने । विगतको शत्रुलाई मित्र बनाएर विगतको मित्रमाथि शत्रुगत व्यवहार गर्न थाले ।

बादल गृहमन्त्री हुँदा विप्लव समूहमाथि कडा कदम चालिएका घटनाहरु अब सामान्य बन्दै जाने संकेत देखिएको छ । ओलीपथमा बादल चल्न थालिसकेका छन् । राजनीतिक सम्भावनाको खेलले ओली र बादललाई एउटै बिन्दुमा पु¥याउँदा मुलुकले नयाँ चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । प्रचण्डपथ छाडेर ओलीपथमा पुगेका बादलको काँधमा राखिएको बन्दुकले एकपछि अर्को तरंग ल्याउने वातावरण निर्माण गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्