Logo

‛अमेरिकी रणनीति’ को देव गुरुङले खुलासा गरेपछि सरकार अप्ठ्यारोमा



काठमाडौं, १० असार । अमेरिकाले नेपालमा सैन्य अखडा राखेर चीन र भारतविरुद्ध आक्रमण गर्ने योजनासहित इन्डो प्यासिफिक सैन्य गठबन्धनमा नेपाललाई समावेश हुन दबाब दिएको विषय सत्तारुढ दलका प्रमुख सचेतक देव गुरुङले खुलासा गरेपछि कुटनीतिक र सैन्यवृत्तमा तरंग आएको छ । गुरुङले तथ्य प्रस्तुत गर्दै अमेरिकी योजना डरलाग्दो रहेको दाबी गरेपछि सरकारमाथि कुटनीतिक दबाब परेको छ ।

विश्वस्त स्रोतका अनुसार अमेरिकाले कुटनीतिक तहबाट यसबारे गम्भीर चासो व्यक्त गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो प्यासिफिकबारे सार्वजनिक रुपमा अभिव्यक्ति दिदै नेपाल असंलग्न परराष्ट्रनीतिमा अडिग रहेको जवाफ दिएका छन् । गुरुङको अभिव्यक्तिले परराष्ट्रसँग अनौपचारिक रुपमा अमेरिकी सरकारले चासो व्यक्त गरेको बुझिएको छ ।

संसदमा समेत गुरुङले उठाएको विषयलाई आधार बनाएर उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री इश्वर पोखरेलसँग जवाफ मागिएको छ । पोखरेलले अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल नहुने बताएका छन् । संसदको बजेट शिर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै उनले नेपाल असंलग्न आन्दोलनको सदस्य मुलुक रहेकाले कुनैपनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल नहुने बताएका हुन् ।

अमेरिकासँग हुने भनिएको सैन्य अभ्यासका बारेमा उनले पेशागत क्षमता वृद्धि, ज्ञान आदान प्रदानका लागि अभ्यास हुने गरेको बताए । यसअघि सचेतक गुरुङले प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँग दिएको अन्तवार्तामा अमेरिकासँगको सैन्य अभ्यास देखि इन्डो प्यासिफिकमा नेपाललाई समावेश गर्नुमा अमेरिकाको चीन र भारतमाथि आक्रमण गर्ने दीर्घकालिन सैन्य योजना अन्र्तगत भएको बताएका थिए ।

सत्तारढ दलका प्रमुख सचेतकको अमेरिकी भूमिका र सैन्य रणनीतिबारे आएको अभिव्यक्तिले सैन्य तहमा समेत चर्चा र चासो पाएको छ । उपप्रधानमन्त्री पोखरेललगायत जिम्मेवार अधिकारीसँग कुटनीतिक तहमा समेत चासो व्यक्त भएको बुझिएको छ ।

के भनेका थिए गुरुङले

नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले नेपालमा सैन्य अखडा राखेर चीन र भारतविरुद्ध आक्रमण गर्ने योजनामा अमेरिका सक्रिय रहेको आरोप लगाएका थिए । उनले अमेरिकी गुप्तचर नियोगका अधिकारीहरुको नेपालमा नियमित आवतजावत र गोप्य सम्मेलनको खुलासा गर्दै नेपालमा फौजी क्याम्प राख्ने योजना अनुसार पछिल्लो गतिविधि निर्देशित भएको दाबी गरेका थिए ।

‘अमेरिका नेपालमा फौजी क्याम्प राखेर उत्तर र दक्षिणी छिमेकीमाथि हमला गर्न आउँदैछ,’ गुरुङले भनेका थिए,‘यसलाई रोक्न सकिएन भने नेपाल नै सिद्धिन सक्छ ।’ सैन्य अखडा बनाउनकै लागि नेपाललाई इन्डो प्यासिफिक रणनीतिभित्र पार्न दबाब दिइरहेको उनको भनाई थियो ।

गएको एक वर्षयता अमेरिका अखडा बनाउन सक्रिय रहेको प्रमाणहरु जगजाहेर रहेको भन्दै गुप्तचर प्रमुखको भेट देखि सैन्य आवत्जावत् बाक्लिएको खुलासा गरेका थिए । उनले भनेका थिए,‘इन्डो प्यासिफिकका अमेरिकी गुप्तचर विभागका प्रमुखहरुको हायात होटलमा तीन दिनसम्म सम्मेलन गरिएको थियो ।’

युनिभर्सल चर्चका नाममा एशिया प्यासिफिकका नाममा इशाइहरुको सम्मेलन पनि नेपालबाट दलाई लामाको मुद्दा उठाउने योजना अनुसार भएको दाबी गर्दै गुरुङले भनेका थिए,‘ इशाई धर्मको प्रचारका साथै दलाई लामाको विषय उठाउन इशाइहरुको सम्मेलन गरिएको थियो ।’
नेपालका परराष्ट्रमन्त्रीलाई अमेरिका बोलाएर इन्डो प्यासिफिकमा प्रवेश गर्न दबाब दिएको उनको भनार्य थियो । उनले भनेका थिए,‘ अमेरिकाको इन्डो प्यासिफिक मामलाका सेनापति नेपाल भ्रमण गरेर इन्डो प्यासिफिकमा प्रवेश गर्न दबाब दिएर फर्किएका छन् ।’

अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्न खोजिरहेकोप्रति इंकित गर्दै सैन्य अखडा राख्न यस्ता गतिविधि भइरहेको भन्दै प्रश्न उठाए,‘ नेपाललाई खेलमैदान बनाउने प्रयास गर्दैछ ।’

अमेरिकी रक्षा सहायकमन्त्री नेपाल आएर दबाब दिएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणमा जाँदा अमेरिकी विदेशमन्त्रीले विज्ञप्ति निकालेर नेपाल इन्डो प्यासिफिक क्षेत्रमा महत्वपूर्ण केन्द्र बन्ने भनेर विज्ञप्ति निकालेको उल्लेख गरेका थिए । उनले भनेका थिए,‘यी सबै गतिविधि सैन्य अखडा खोल्ने उद्देश्यले भइरहेको छ ।’

इन्डो प्यासिफिक क्षेत्रमा सैन्य गठबन्धन गरेर एशियाको समृद्धि रोक्ने अमेरिकी योजनाबाट गम्भीर हुनुपर्ने बताएका थिए । उनले भनेका थिए,‘जनसंख्या, स्रोत साधन र अर्थतन्त्रको औडाहा भएको छ । पश्चिमको सुपरपावर झर्दैछ । एशियामा विकास हुन नदिन, पश्चिमको एकाधिकार कायम गर्न खोजिरहेको छ ।’

अमेरिकाले व्यापार युद्ध मात्र नभई भौतिक रुपमा युद्ध गर्न खोजिरहेको आरोप लगाएका थिए । अमेरिकालाई साम्राज्यवादी देश भन्दै उसले विश्वका एक सय २० भन्दा बढी मुलुकहरुमा सैन्य अखडा राखेको र अब नेपालमा पनि राख्न खोजेको बताएका थिए ।
नेपालका प्रमुख राजनीतिक दलका नेताहरु एक भएर नलाग्ने हो भने विदेशी शक्तिले देशलाई खेलमैदान बनाएर भताभुंग पार्ने उनको भनाई थियो । देश अत्यन्तै जोखिममा रहेको भन्दै त्यसबाट जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

सरकारले अमेरिकी शक्तिको प्रभाव रोक्न प्रयास गरिरहनेपनि कठिनाई भोगिरहेको गुरुङको भनाई थियो । देशको अस्मिता रक्षाका लागि पनि सैन्य अखडा बनाउन दिन नहुने बताएका थिए ।

देव गुरुङले देखेको अमेरिकी रणनीति

 नेपालमा सैन्य अखडा
 इन्डो प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी गराउने
 इशाईको नाममा दलाई लामाको विषय उठान
 छिमेकीमाथि घेराबन्दी
 चीन र भारतमाथि हमला



प्रतिक्रिया दिनुहोस्