Logo

किन बादलमाथि आक्रामक बने प्रभाकर



समाचार विश्लेषण । सत्तापक्ष र प्रतिपक्षको झल्को दिने गरी सोमबार संसदीय समितिमा एउटै दलका नेताबीच चर्काचर्की भयो । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका इञ्चार्ज कुमार पौडेलको इन्काउन्टरको विषयलाई लिएर पूर्व गृहमन्त्री समेत रहेका नेकपा नेता जर्नादन शर्मा प्रभाकरले घटना झुटो मुठभेड भएको भन्दै गृहमन्त्री बादलतर्फ औंला तेर्साए ।

जवाफमा गृहमन्त्री बादलले मुठभेड भएको भन्दै प्रहरीको बचाऊ गरे । पूर्व गृहमन्त्रीले बहालवाला गृहमन्त्रीमाथि इन्काउन्टरको विषयमा प्रश्न उठाउनुलाई स्वाभाविक मानिएपनि एउटै राजनीतिक पृष्ठभूमिबाट आएर एउटै दलमा आवद्धबीचको फाटो बाहिरै देखियो । प्रभाकर बादलमाथि आक्रामक हुनुमा दुईबीचको राजनीतिक टकराव पनि कारण बन्दै गएको छ ।

बादलसँग असन्तुष्ट

प्रभाकर पछिल्लो समय बादलसँग असन्तुष्ट बन्दै गएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री बन्दा प्रचण्डका तर्फबाट मन्त्रीमा नाम पठाउँदा प्रभाकर जान मानेनन् । उनले मागेको गृह मन्त्रालय नपाएपछि अर्को मन्त्रालयमा जाने इच्छा देखाएनन् । बादलका कारण प्रभाकर रोकिएका थिए ।

प्रचण्डलाई पटक पटक छाड्ने र जोडिने गरेका बादलसँग प्रभाकरको दूरी विगत देखि नै बढेको थियो । त्यसमाथि गृहमन्त्री बन्न नपाउँदा उनमा असन्तुष्टि चुलियो बादलप्रति । माओवादी फुटाएर जानेहरुलाई प्रचण्डले च्यापेर मन्त्री समेत बनाउँदा उल्टै धोका हुँदै गएको चर्चा चलिरहँदा प्रभाकरले कुमार पौडेल इन्काउन्टर घटनाको विषय उठ्दा संसदमा आक्रोश पोखे ।

बादल विस्तारै प्रचण्डबाट टाढिएर ओलीसँग नजिकिदै गएको विषय प्रचण्ड समूहभित्र उठ्ने गरेको छ । प्रभाकर यस मामलामा पनि बादलसँग रुष्ट छन् । बादलको भूमिकाप्रति पार्टीभित्र विरोधको स्वर उठ्दै गर्दा संसदमा प्रभाकरले विषय उठान गरी चुनौती दिए । इन्काउन्टर त प्रभाकर गृहमन्त्री हुँदाको बखत पनि भएको थियो । गृहमन्त्रीलाई चुनौती दिने अवसर छोपेका थिए प्रभाकरले ।

विप्लवसँग कस्को निकटता

नेकपाभित्र विप्लवलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा मतभेद देखिएको छ । सत्तामा रहेका र केपी शर्मा ओली निकटहरु कडाईका साथ जानुपर्ने पक्षमा छन् । उनीहरुको विप्लव समूहप्रतिको कठोर नीतिले यसलाई पुष्टि गर्छ ।

सत्ता बाहिर रहेका र प्रचण्डसँग नजिक रहेकाहरु नरम छन् । उनीहरु विप्लवलाई वार्तामार्फत् सहमतिमा ल्याउनुपर्ने पक्षमा छन् । विप्लवप्रति कडा नीति लिंदा अर्को समस्या आउने तर्फ सचेत गराएका छन् । प्रचण्डले सार्वजनिक रुपमा विप्लवलाई आफ्नो नक्कल नगर्न भनेका छन् । उनले विप्लवलाई मित्रवत् व्यवहार नै देखाइरहेका छन् ।

प्रचण्ड र उनी निकटस्थको विप्लवप्रतिको नरम व्यवहारलाई कतिपयले शंकाका दृष्टिले हेरेका छन् । कतै प्रचण्डले ओलीमाथि दबाब बढाउन विप्लवलाई कार्ड त बनाएका छैनन् ? यो आशंका नेकपाभित्रको ओली पक्षधरमा छ ।

अबको एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने दाबी प्रचण्डले प्रस्तुत गरेका छन् । ओलीले कथंकदाचित् सत्ता नछाड्दा कुनै न कुनै कार्ड देखाएर असजिलोमा पानुपर्ने हुनसक्छ । प्रचण्डले अनेकन कार्ड तयार गर्ने क्रममा विप्लवलाई तयार गरेका त होइनन् ?



प्रतिक्रिया दिनुहोस्