Logo

प्रचण्डले कांग्रेसको आवश्यकत्ता किन महशुस गरे ?



नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिनुभएको छ ।

भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा काङ्ग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ, प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मेरोबीचमा लगातार छलफल भइरहेको छ ।”

अध्यक्ष दाहालले थप्नुभयो, “हामी एक्लै हिड्न सक्ने अवस्थामा छैनौँ, शान्ति पक्रियामा मिलेर ग¥यौँ, संविधान मिलेर ल्यायौँ, हामी एउटै डुङ्गामा यसरी चढेका छौँ, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही होइन ।”

अध्यक्ष दाहालले नेत्रविक्रम चन्द समूहको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउनेमा विश्वास व्यक्त गर्दै भन्नुभयो, “जसरी साथी फर्किरहनुभएको छ त्यसरीनै विप्लवजी आउनु हुन्छ ।”

शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रुपमा रहेर काम गरेको स्मरण गर्दै उहाँले चन्दमा केही असन्तुष्टि भने त्यतिबेला पनि देखिएको बताउनुभयो । उहाँले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन नदिने विश्वास दिलाउनुभयो । “महानगरलाई नमूना बनाउन सुझाव दिँदै भ्रष्टाचाररहित महानगर बनाउनुपर्छ”, भन्नुभयो ।

यहाँको विकास समग्र देशसँग जोडिने भएकाले सोहिअनुसार काम गर्न उहाँको आग्रह थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय तीनै तहको समन्वय हुन सके समृद्धि हासिल गर्न सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकासका लागि तीनैतहका सरकारबीच पर्याप्त समन्वय हुनुपर्दछ अनि मात्र समृद्धि हासिल गर्न सहज हुन्छ ।”

 



प्रतिक्रिया दिनुहोस्