Logo

वीपीले बुझेका “म्युजियमकी भिक्टोरिया” र “जनमनका शेक्सपियर”



  • दीपेश केसी

“तपाईं आफूलाई पूर्व प्रधानमन्त्री या साहित्यकार के भन्न चाहनुहुन्छ ?” वीपी कोइरालालाई सोधियो ।

“रानी भिक्टोरियाको सिक्का बेलायतको म्युजियमा सिमित हुँदा शेक्सपियरका पुस्तक घर घरमा भइरहनेछ,” वीपीले सटिक जवाफ दिए ।

वीपीको आशय थियो उनी आफूलाई साहित्यकार भन्दा गर्व गर्थे । शक्ति, पद र पैसा क्षणिक थियो भन्ने वीपीको बुझाई थियो । त्यसैले उनले जनताको हृदयमा बास गर्ने गरी जीवन्त पात्रहरु समेटेर कृतिहरु लेखे ।

वीपीले साहित्यलाई सामान्य र सजिलो विषय मानेका छैनन् । जेलको चारपर्खालभित्र कठोर जीवन बिताउँदा निस्केको पीडाको सुस्केका ठान्थे साहित्यलाई । जीवन र मृत्युको लागि छटपटाहट हुँदाको व्यथा थियो साहित्य ।

वीपीले साहित्यमा समाजको तस्वीर मात्र उतारेनन् मानिसको मनलाई पनि उतारे । मनोवैज्ञानिक कथा र उपन्यासले युगको भाषा मात्र बोलेन । ढोंगीहरुबारे खुलस्त पारे ।

कर्नेलको घोडामा अधवैशे कर्नेलको फूर्ति कर्नेलनीले घोडाबाट झर्दा उतारिदिइन् । अनमेल विवाहको परिणाम मात्र नभई पैसा र पावरको बलमा कम उमेरकी युवती विवाह गर्ने तत्कालिन समाजका उमेर काटेका संभ्रान्तहरुको अभ्यासप्रति व्यङ्ग्य गरेका छन् ।

सुम्निमामा वीपीले शरीर र मनबीचको सम्बन्ध र द्वन्द्वलाई दुई विपरित समुदायका पात्र खडा गरेर प्रस्तुत गरेका छन् । मानिसले यौन इच्छालाई जर्बजस्ती नियन्त्रणमा राख्दाको परिणामलाई उतारेका छन् । सुम्निमाको तन ब्राम्हण पतितिर र मन भिल्ल युवकतिर भएको विषयले मान्छे कसरी यौनबाट निर्देशित भइरहेको हुन्छ भन्ने सिग्मन्ड फ्रायडको सिद्धान्तलाई साहित्यमा लागू गरेका छन् ।

वीपीमा भूगोल, समाज र इतिहासको गहिरो जानकारी थियो । आफूले देखेको र भोगेको विषयलाई जसरी साहित्यमा उतारे त्यसले नेपाली समाजलाई आफ्नो विगत, वर्तमान र भविष्यबारे बुझ्ने ग्रन्थ मिल्यो । कोशीको भंगालो देखि चराहरु मानिससँग बोल्ने काल्पनिक युगसम्म उतारेका छन् । समाजको विगत र वर्तमानको अभ्यास मात्र नभई सयौं वर्ष पुरानो अभ्यासबारे दुरदर्शिता व्यक्त गरेका छन् ।

वीपीको कृति नेपाली समाजको विगतलाई हेर्ने भिडियो र तस्वीर मात्र नभई भविष्यको प्रक्षेपणबारे अनुमान लगाउन सक्ने मार्ग बनेको छ । घटना र परिघटनाले मानिसलाई बनाउने र बिगार्ने गर्छ । कसैलाई दिइएको श्राप कहिलेकाहीं उसैका लागि वरदान बन्छ ।

वीपी जेल नपर्दोहुन् त नेपाली साहित्यले कालजयी र अमूल्य कृति पाउँदैनथियो होला । वीपीको जेलजीवनले नेपाली राजनीतिले के पायो के गुमायो अध्ययनको विषय बन्दै आएको छ । तर, उनको जेल जीवनले नेपाली भाषा, समाज र साहित्यले महान् कृतिहरु पायो । जुन कृतिले भावी पुस्तालाई इतिहासप्रति उत्साही हुन सिकाएको छ । इतिहासबाट सिकेर अगाडि बढ्न प्रोत्साहित गरेको छ । सुन्दर भविष्यप्रति आशा जगाएको छ ।

वीपी भन्थे—मानिस ठूलो बन्न सजिलो छ, असल बन्न सजिलो छ । असल बन्नु आफैमा संघर्ष हो । जीवनमा लोकप्रीयताको भारी बोक्न रुचाएनन् । न त पुरस्कार र सम्मानको तक्मा थाम्न चाहे । वीपीको छातिमा कसैको निगाहाको तक्मा झुण्डिएन । पूर्व प्रधानमन्त्रीका रुपमा या राजनीतिज्ञका रुपमा उनलाई युग नायकका रुपमा देखाएर राजनीतिक लाभ लिन खोज्नेहरु आउने जाने क्रम चलिरहेको छ । तर, वीपी झन् झन् सार्थक र सान्दर्भिक बन्दै गएका छन् ।

वीपीको राजनीतिक विचार हाम्रो पनि हो भनेर कुनै बेला उनलाई फाँसी दिनुपर्छ भन्नेका चेलाहरुले दाबी गर्न थालिसके । यसैमा वीपीको विचारको प्रभाव र सान्दर्भिकता बुझ्न सकिन्छ । तैपनि, वीपीले आफूलाई राजनीतिज्ञका रुपमा चिनाउन नचाहेको देखिन्छ । वीपीको राजनीतिक विचार एउटा युगसम्म सान्दर्भिक होला तर उनको साहित्यिक सुगन्ध युग युगसम्म फैलिइरहनेछ ।

वीपीको कालजयी कृतिले जीवन र जगतसँग प्रत्यक्ष जोडिएको यौनलाई सभ्य ढंगले प्रस्तुत गरेको छ । यौन र मनोविज्ञानमार्फत् समाजको यथार्थ तस्वीर उतार्न सक्नु वीपीको साहित्यको सौन्दर्य हो । त्यसैले वीपीका कृति घर घरमा पुगेका छन् । उनका तस्वीर मानिसका मन मनमा टाँसिएका छन् । उनीभन्दा पछिका राजाहरुको सिक्का म्युजियममा सिमित भए तर वीपीका कृति मानिसका घर घरमा छन् ।

प्रतिक्रिया दिनुहोस्