Logo

नेपाललाई गर्ने वार्षिक सहयोग राशिलाई बढाउने (अनकन)को घोषणा



काठमाडौं, १४ असार । युएसए–नेपाल कम्युनिटी आउटरिच नेटवर्क (अनकन) ले नेपालमा वार्षिक रुपमा सहयोग गर्दै आएको दश हजार अमेरिकी डलरको सहयोग राशीलाई बढाउने घोषणा गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनकनले यस्तो जानकारी गराएको हो । सन् २०१४ देखि नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा वार्षिक दश हजार अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गर्दै आएको अनकनले पछिल्लो समय आफ्नो सहयोगलाई बढाउने तयारीसमेत गरेको अनकनका उपाध्यक्ष विलास उपाध्यायले जानकारी दिए । अनकनले काठमाडौंको जयबागेश्वरीमा रहेको असहाय बालबालिकाको पालनपोषणको लागि बाल सारथीलाई आर्थिक सहायता प्रदान गरेको छ ।

संयुक्त राज्य अमेरिकाको टेक्सासमा मुख्य कार्यालय रहेर काम गर्दै आएको अनकन गैरनाफामूलक संस्था हो । उपाध्यायले संस्थाको मुख्य उद्देश्य भनेको नै गरिबी तथा भोक निवारण गर्नु रहेको सुनाए । यसको अलावा असक्त तथा उपचारबाट बञ्चित रहेकाहरुलाई स्वास्थ्य सेवाको लागि सहयोग गर्नेपनि संस्थाको उद्देश्य रहेको उनले जनाए ।

संस्थाले यसअघि बाँकेको चिसापानीमा रहेको सुर्योदय माध्यामिक विद्यालय, बाग्लुङको विश्वकर्मा उच्च मावि, लमजुङका जनकल्याण उच्च मावि र लोक आदर्श मावि, चितवन भरतपुरको हिमालय निमावि र सप्तरीको राजयोती माविमा कम्प्युटर ल्याब बनाईदिएको उपाध्यायले जानकारी दिए ।

पछिल्लो पाँच वर्षमा अनकनले २० विद्यार्थीहरुलाई चाईल्ड डेभलपमेन्ट सोसाईटी (सिडिएस) सँगको सहकार्यमा पूर्ण छात्रवृत्ति र खानपिनको लागि सहयोग प्रदान गरेको छ। त्यस्तै, भक्तपुरको गणेश माध्यामिक विद्यालयलाई पनि विद्यार्थीहरुको खानपिनको लागि यो वर्ष एक हजार अमेरिकी डलर सहयोग गर्ने सम्झौता गरिसकेको उपाध्यायले जनाए ।

त्यस्तै, अनकनले सुदुर पश्चिममा अझैपनि कायम रहेको छाउपठी प्रथा न्यूनीकरणको लागि विभिन्न परियोजनाहरु सञ्चालनमा ल्याएको छ । अनकनले अमेरिकामा रहेको एनईसी’ ९९ सिभिलसँगको सहकार्यमा लमजुङमा रहेको शारदा माध्यामिक विद्यालयमा दुई कोठाको ब्लक बनाईदिएको थियो । त्यस्तै, काठमाडौंमा रहेको जनमैत्री बहुमुखी क्याम्पसमा पनि दुई कोठाको पुस्ताकालय बनाईदिएको छ। उपाध्यायले संस्थाको नेपालको कन्ट्री डाईरेक्टरपनि चाँडै नियुक्ती गर्ने जनाए ।



प्रतिक्रिया दिनुहोस्