Logo

“हामीलाई पैसा हैन, सन्तानले हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”



असार १६, काठमाण्डौ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले बजेटमार्फत वृद्ध भत्ता बढाए पनि आफूहरुले पैसा मात्रै नखोजेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पराजुलीले आफूहरुलाई सम्मानजनक रुपमा बाँच्ने परिस्थिती बनाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

“छोराहरुले आफ्नै बाबुआमालाई यो मेरो हली हो, नोकर हो भनेर परिचय दिने अवस्थाको अन्त्य हुनुपर्छ । बुहारीले हेप्ने, बोक्सी भनेर कुट्ने जस्ता कामको अन्त्य खोजेका हौँ ।” पराजुलीले भने ।

कानुनले गरेको व्यवस्थाअनुसार आफूहरुको सम्मान र संरक्षण हुनुपर्नेमा उनले जोड दिएका हुन् । आफूहरुले काठमाण्डौको मिनभवनमा ८ वर्षसम्म निरन्तर धर्ना दिएको तर अहिले उक्त धर्ना स्थगित गरेर आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए ।

अब सिंहदरबारभित्र प्रवेश गरिसकेको बताउँदै उनले त्यहीँ धर्ना बस्न सुरु गरिसकेको उनले बताए । गत ५ गतेदेखि आधा दर्जन मन्त्रालयमा धर्ना सुरु गरिएको उनले जानकारी दिए ।

पराजुलीले पत्रकार ऋषि धमलाको प्रशंसा गर्दै हरेक पीडा सहेर देश र जनताका लागि निरन्तर खटेको बताए । नागरिकको समस्या समाधानका लागि धमलाले यन्त्रमानवले झैँ काम गरेको उनको तर्क छ । उनले भने–धमलालाई जन्माउने बाउआमालाई म सलाम गर्न चाहन्छु । थोरै क्षमता भएको मान्छेले धमलाले झैँ काम गर्न सक्दैन ।



प्रतिक्रिया दिनुहोस्