Logo

किमको नजिक चरो-मुसो जान नदिने बडीगार्ड



उत्तर कोरियाली सुप्रिम नेता किम जोङ उनको सुरक्षा निकै व्यवस्थित र कडा छ । किम सधै कडा सुरक्षाघेरामा हुन्छन् । सायदै सार्वजनिक कार्यक्रममा देखिने उनी देखिदा १० देखि २० जना बडीगार्डले घेरिएकै हुन्छन् । उनको नजिक चरोमुसो पुग्न नसक्ने गरी तयारी अवस्थामा रहन्छन् ।

किम र उनको परिवारका लागि खटिने फोर्सलाई , युनिट ९६३, दी इस्कर्ट ब्युरो, गार्ड कमान्ड, गार्ड ब्युरो भनिन्छ । गार्ड कमान्डमा झण्डै एक लाख जति सैनिकहरु छन् । यसले उत्तर कोरियाली नेता र परिवारको सदस्यको सुरक्षाको जिम्मा लिएको छ ।

अनुहारमा दाग हुनुहुँदैन

गार्ड कमान्डबाट पनि उत्कृष्ट र क्षमतावानहरुमध्येबाट छानिएकाहरु किमको बडीगार्ड बन्छन् । उनीहरुको संख्या तीन सय जति छ । बडीगार्ड टोलीमा पर्न निर्क क्षमतावान हुनुपर्छ । उनीहरुको पारिवारिक पृष्ठभूमिको पुस्तौंबारे जानकारी लिएर मात्र छानिएको हुन्छ । उत्तर कोरियाको घरानिया परिवारका हुनुपर्छ । उत्तर कोरियाको अहिलेको शासकको परिवारको वफादार बन्दै आएको परिवारको सदस्य हुनुपर्छ ।
उनीहरुको उचाई, आँखा, खेल देखि व्यक्तित्व सबैको विचार गरिएको हुन्छ । उचाई किमको जस्तै हुनुपर्छ । आँखा चम्किलो र व्यक्तित्व आकर्षक हुनुपर्छ । अनुहारमा कुनै दाग हुनुहुँदैन । शरीर आकर्षक हुनुपर्छ । मार्टल आर्टस् खेलेको हुनुपर्छ । कपाल छोटो हुनुपर्छ ।

हिरन आकर्षक हुन्छ । सुटबुटमा टाइसहित हुन्छन् । सुटको टाँक नलगाई नीलो रङको टाई खोलिएको हुन्छ । सुटको टाँक ननिकाल्नुमा आवश्यक पर्दा हतियार छिटो निकाल्न सकियोस् भनेर हो ।

 

छानिएपछिको तालिम

एकपटक बडीगार्डका लागि छानिएपछि परिचयपत्र कार्डको नम्बर दिइन्छ । अन्य रेकर्डहरु मेटिन्छ । परिवारसँग सम्पर्कमा रहन पाइदैन । हरेक परिवारको एक भन्दा बढी सदस्य बडीगार्ड बन्न पाउँदैन ।
छानिएपछि विशेष तालिम दिइन्छ । छ महिना विशेष तालिम केन्द्रमा राखिन्छ । कुल दुई वर्षको तालिम हुन्छ । तालिममा तेक्वान्दो, २५ किलोमिटर मार्च, विशेष अपरेशन रणनीति हुन्छ । उनीहरुले तीनसयभन्दा बढी पृष्ठको विगतका सुरक्षासम्बन्धि घटनाबारेको तथ्यसहितको पुस्तक अध्ययन गर्नुपर्छ ।

उत्तर कोरियामा नेता किम जोङ उनबाहेक गार्ड कमान्डलाई मात्र हतियार बोक्ने अनुमति हुन्छ । झण्डै एक लाख संख्याका गार्ड कमान्डले उत्तर कोरियाली नेताको सुरक्षाको सूचनाहरु संकलन गरिरहेका हुन्छन् । गार्ड कमान्डमध्येबाट किमको बडीगार्ड छनोट गरिएको हुन्छ ।

 

किमको नजिक पर्नै नदिने

किमलाई निकै कडा सुरक्षा घेराभित्र राखिएको हुन्छ । उनीसम्म सायदै कोही पुग्नसक्छ । सिंगापुर, भियतनाम र दक्षिण कोरियाको सीमा क्षेत्रमा पुग्दा समेत किमको अगाडि डोनाल्ड ट्रम्पबाहेक कसैलाई पुग्न दिइएन । किमले डोनाल्ड ट्रम्पसँग मात्र हात मिलाएका थिए ।


दुई नेताको ऐतिहासिक हातेमालो र भेटको तस्वीर खिच्न पुगेका पत्रकारलाई किमका बडीगार्डहरुले छेकेको दृश्य रोचक देखिन्थ्यो । यतिसम्मकी ह्वाइट हाउसकी सूचनामन्त्री स्टेफानी ग्रिसम समेत रोकिइन् । उनलाई समेत छेकेर अगाडि बढ्न नदिएपछि ठेलेर बढ्न खोजेको दृश्य देखिन्थ्यो । उत्तर कोरियाका नेता किमसँग पुग्न समेत असम्भवप्रायः बनाइएको छ ।

सिंगापुर र भियतनाममा ट्रम्पसँगको भेटका लागि जाँदाको कारगेटमा किमका बडीगार्डहरु दौडिरहेको दृश्य रोचक देखिन्थ्यो । बीस जना जति गार्डहरु बुलेटफ्रुफ गाडीको वरिपरि घेरेर दौडिएका थिए ।
स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्