Logo

संसदीय व्यवस्था किन कमजोर भयो ? यसो भन्छन् सभामुख महरा



काठमाडौं, १६ असार । सभामुख कृष्णबहादुर महराले विगतमा भएका गल्तीबाट पाठ सिकेर संसदीय अभ्यासलाई थप सुदृढ बनाउन एकजुट हुनुपर्ने धारणा राखेका छन् । संसद सचिवालय र पूर्वसांसद मञ्चले ६१औं संसद दिवसका अवसरमा सोमबार काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् ।

महराले संसदीय अभ्यासकाक्रममा विगतमा पटक–पटक भएका गल्तीले संसदीय व्यवस्था कमजोर भएको स्मरण गर्दै विगतको आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।उनले जनताका समस्या समाधान गर्ने थलोकारुपमा संसदलाई विकसित गरेर संसदीय व्यवस्थालाई परिस्कृत गर्न सबैपक्ष एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबाट नै सभामुखलाई अप्ठ्यारो पार्ने काम भइरहेकोप्रति असन्तुष्टि जनाउँदै सभामुखलाई तटस्थ भएर काम गर्न दिनुपर्ने बताए ।

त्यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सत्तापक्षकै शीर्ष नेताबाट संसदीय व्यवस्थाप्रति वितृष्णा फैलिने गरी आउने अभिव्यक्तिले मुलुक पुनः द्वन्द्वमा जाने चिन्ता बढ्न थालेको टिप्पणी गरे । वि.सं. २०१५ साल असार १६ गते पहिलोपटक संसद बैठक बसेको दिनको सम्झनामा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाउने गरिन्छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्