Logo

नरम बन्दै ओली, कहिलेसम्म ?



असार १७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली भन्नासाथ विरोधी र प्रतिपक्षीलाई गाली मात्रै गरिरहने व्यक्ति भन्ने लाग्छ । सार्वजनिक कार्यक्रममा अरुलाई कटाक्ष गरेर नथाक्ने ओलीको भाषण मन नपराउनेले पनि सुन्ने गर्छन् । तर पछिल्लो समय ओली केही नरम बन्दै जानुभएको हो कि भन्ने संकेत देखिएको छ । लगातारको विरोध र आलोचना खेप्नुभएका ओली आगामी दिनमा नरमै बन्नुहोला वा पुरानै प्रवृत्ति देखिएला भन्ने चासो पनि बढेको छ ।

प्रधानमन्त्री भएपछि ओलीले विपक्षी तथा आलोचकमाथि अरिङ्गाल बनेर जाइलाग्न कार्यकर्तालाई निर्देशन नै दिनुभएको थियो । जसले गर्दा ओली निकै विवादमा पनि परे ।

त्यसपछि पनि निरन्तर रुपमा आलोचक र प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कटाक्ष र व्यङ्ग्य गर्दा ओलीमा बहुमतको दम्भ देखिएको धेरैले टिप्पणी गरे । संसदमा होस् वा अन्य सार्वजनिक कार्यक्रममा, ओलीले सरकार वा आफ्नो विरोध गर्नेलाई भित्तामा पुग्ने गरी अभिव्यक्ति दिन्थे ।

तर पछिल्लो समय प्रधानमन्त्री ओली केही नरम बन्नुभएको हो कि भन्ने संकेत देखिएको छ । सरकारको कामप्रति सवैतिरबाट आलोचना भइरहनु र पार्टीभित्रको आन्तरिक समस्या पनि समाधान पनि हुन नसक्नुले ओलीलाई केही लगाएको हुन सक्छ । गुठी विधेयकको विरोधले त प्रधानमन्त्री ओलीलाई एउटा पाठ नै सिकाएको कतिपयको विष्लेषण छ ।

आफ्ना कमी कमजोरी अस्वीकार गर्दै आउनुभएका ओलीले अहिले भने आलोचना र सुझाबलाई सकारात्मक रुपमा लिन थाल्नुभएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । आफ्नै दलका नेता तथा सांसदहरु पनि ओलीको कार्यशैलीप्रति असन्तष्ट हुन थालेपछि ओलीको बोली फेरिएको हुन सक्ने विश्लेषक मुमाराम खनाल बताउँछन् ।

सोमबार लामो समयपछि बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले नेतृत्वको कडा आलोचना गरेका थिए । त्यसबेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र दाहाल निकै गंम्भिर मुद्रामा देखिएका थिए । सांसदहरुले गरेका प्रश्नको अन्तिममा जवाफ दिदै ओलीले सरकारको बचाउ गर्दे पार्टी एकताको बांकी चाडै टुङ्गो लगाउने आश्वासन दिनुभएको थियो ।

आइतबार एक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले मुलुकको विकासको लागि सरकार र प्रतिपक्षी दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्री भएपछि पहिलोपटक ओलीले प्रतिपक्षी दलसँग पनि मिल्नुपर्ने धारणा राख्नुभएको हो । ओलीको फेरिएको शैली कति समय टिक्छ त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्