Logo

अब हलो जोत्ने हिरो



रिपोर्टर्स नेपाल, १८ असार । कुनैबेला उखान थियो, “पढ्नु गुन्नु कुले काम हलो जोती खायो माम ।” जसले पढ्दैन लेख्दैन उस्ले हलो जोत्छ भन्ने मानसिकता थियो । खेतबारीमा काम गर्नु दुःखी पेशा हो र हुनेखानेले यस्तो काम गर्नु हुन्न भन्ने सोच हावी थियो ।

अहिले समय बदलिएको छ । खेतबारीमा हलो जोत्ने हिरो भएका छन् । राजनीतिक दलका प्रभावशाली नेता, कर्मचारी देखि सेलिब्रिटीसम्म खेतबारीमा पुगेर काम गरेको तस्वीर सामाजिक सञ्जालमा राख्न थालेका छन् । यो प्रतिष्ठाको विषय बनेको छ ।

धान दिवसमा डा. बाबुराम भट्टराईले हिलाम्मे भएर हलो जोतेको तस्वीर पोष्ट गरे । पूख्र्यौली थलो गोरखा पुगेका समाजवादी पार्टी नेपालका अध्यक्ष भट्टराईले विगतमा बागमती सफाईका क्रममा फोहोर उठाएका थिए ।


खेतमा पुगेको रोपाई गरेको तस्वीर सांसद नवराज सिलवालले पनि राखे । पूर्व डिआइजी समेत रहेका सेलिब्रिटी नेता सिलवालले पञ्जा लगाएर धान रोपेको तस्वीरलाई विवादमा ल्याइयो । उनले पुनः सामान्य अवस्थामा धान रोपेको तस्वीर पोष्ट गरे । उनका चुनावी प्रतिष्पर्धी उदय शमशेर राणाले पनि धान रोपेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरे । राणा परिवारमा हुर्किएका उदयले छपछप हिलोमा धान रोपेको देखिन्थ्यो ।


धान दिवसमा मन्त्री चक्रपाणी खनाल बर्दिया पुगेर रोपाईमा सभागी भएका थिए । आजकल नेताहरु खेतमा काम गरेको क्यामरामा कैद गरेर लोकप्रीयता बटुल्न थालेका छन् ।

समय बदलिएको छ । खेतमा काम गर्नेलाई हेप्ने प्रवृत्ति हटेको छ । खेतमा काम गरेको देखाउने चाहना हुनेखानेहरुमा बढेको छ । भारतको लोकसभा चुनावमा हिमामालिनीले गहुँ काटिरहेको तस्वीर भाइरल भयो । किसानहरुको सम्मान हुनुपर्छ भन्ने मान्यता दक्षिण एशियामै बढेको छ ।

नेता र सेलिब्रिटीले किसानको नक्कल गर्ने मात्र होइन तिनको पीडा बुझ्न जरुरी छ । खेतमा काम गर्नेलाई साँच्चै हिरो बनाउनुपर्छ । खेतमा काम गरेको देखाएर आफू हिरो बन्ने होइन ।

किसानको समस्या अझै गम्भीर बनिरहेको छ । हलो जोत्ने हिरो हुँदैछन् । त्यसका लागि तिनको सम्मान र अधिकार रक्षा जरुरी छ । तस्वीरः सामाजिक सञ्जालहरु



प्रतिक्रिया दिनुहोस्