Logo

मन्त्रीको निर्वाचन क्षेत्रमुखी बजेटप्रति सांसदको आपत्ति



राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद महेशकुमार महराले शहीद र द्वन्द्व पीडितका छोराछोरीलाई छात्रवृत्ति पाउने भने पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

सांसद रामचन्द्र राईले पुल र बाटो निर्माण हुन नसकेको, सिँचाइलाई कृषिअन्तर्गत राखिनुपर्ने, भूमिगत सिँचाइ आयोजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम व्यावहारिकभन्दा पनि प्रचारमुखी मात्र भएको उहाँको भनाइ थियो । मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट राखेकामा सांसद यादवले आपत्ति जनाउनुभयो ।

सांसद शेरबहादुर कँुबरले सुरुङ मार्ग खोल्ने सरकारको योजनाले छिटो सडक सञ्जाल अगाडि बढ्ने उल्लेख गर्नुहुँदै यसले देशको आर्थिक विकासमा सहयोग गर्ने बताउनुभयो । सांसद रमेशप्रसाद यादवले समृद्ध नेपाल र सुखी नेपाली नारामै मात्र केन्द्रित भएको बताउँदै मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट राख्दा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताउनुभयो ।

सांसद नैनकला ओझाले युवा शक्तिलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद हरिचरण शिवाकोटीले दलित, महिला तथा सम्पूर्ण उत्पीडित समुदायलाई लक्षित गरेर बजेट आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । बाल विकासका शिक्षकको तलब वृद्धि गर्नुपर्ने उहाँको माग थियो ।



प्रतिक्रिया दिनुहोस्