Logo

आइफाले नेपाल–भारत सम्बन्धमा कस्तो असर पर्ला ?



रिपोर्टर्स नेपाल, १८ असार । । इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी आइफा अवार्ड आयोजनाबाट सरकार पछि हटेपछि भारतीय पक्षले विकसित घटनालाई गम्भीरताका साथ लिएको छ । कलाका माध्यमले दुई देशको सम्बन्धलाई अझ घनिष्ठ बनाउन भारत सरकारले समेत चासो लिएको अवार्ड आयोजनालाई विवादमा तानेर पछि हट्नुले कुटनीतिक समस्या आउन सक्ने भएको हो ।

आइफा अगावर्ड आयोजनाको अनुमति मन्त्रिपरिषदबाट दिइसकेको सरकारले दरिलो अडान नलिएको र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड आयोजना नगर्न सरकारका नाममा निर्देशन दिएपछि भारतीय पक्षले गम्भीरता देखाएको छ । भारतसँग जोडिएका एकपछि अर्को ठूला कार्यक्रम र आयोजनाहरुमाथि एकपछि अर्को प्रहार भइरहेको भन्दै चासो लिएको छ । विश्वस्त स्रोतका अनुसार अवार्ड नेपालमा नहुँदा भारतलाई भन्दा नेपाललाई बढी नोक्शान भएको निष्कर्षमा भारतीय पक्ष पुगेको छ । तर, घटनाले नेपाल–भारत सम्बन्धमा गलत सन्देश गएकोप्रति भारतीय पक्षले चासो देखाएको हो ।

२० औं संस्करणको आइफा अवार्ड सँसारका नाम चलेका शहरहरुमा भइसकेको छ । अफ्रिका, एशिया, युरोप र मध्यपूर्वमा अवार्ड भव्यताका साथ भएको थियो । बलिउडका हस्तीहरु सहभागी हुने कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने अपेक्षासहित नेपाल पर्यटन बोर्डले आयोजनाको नेतृत्व लिएको थियो । अवार्डका लागि हुने खर्चको विषयमा विवाद निकालिएपछि संसद र सडकसम्म चासोको विषय बनेको थियो ।

गुम्यो अवसर

आइफा अवार्डको आयोजनाबाट नेपाल पछि हटेपछि बलिउडका हस्तीहरुलाई एकैसाथ नेपाल भित्राउने अवसर गुमेको छ । शुरुमै विवादमा पारिएपछि बलिउडका कलाकारहरु आउनेमा शंका बढिसकेको थियो । अवार्ड नेपालमा नहुने भएपछि नेपालको सुन्दरताको विश्वव्यापी प्रचारप्रसार गर्ने अवसर गुमेको छ ।
विगतमा भारतीय चलचित्र नेपालमा सुटिङ हुँदामात्र पनि यहाँको व्यापक प्रचारप्रसार हुन्थ्यो । सन् १९७१ म रिलिज भएको देवानन्द अभिनित चलचित्र हरे कृष्ण हरे राम भक्तपुर र वसन्तपुरमा सुटिङ हुँदा नेपालको सांस्कृतिक सुन्दरताले अझ बढी प्रचार पाएको थियो । जसले पर्यटन क्षेत्रमा फइदा पुगेको थियो ।

गलत सन्देश गयो

आइफा अवार्ड नेपालमा नहुने भएपछि यहाँ भारतविरोधी गतिविधि बढेको सन्देश प्रवाह भइसकेको छ । बलिउड र क्रिकेट भारतमा निकै चल्छ । जब यी क्षेत्र विवादमा आउँछन् तब भारतीयहरुको कान ठाडो हुन्छ । आइफा अवार्ड नेपालमा नहुने सूचनालगत्तै भारतीयहरुको कान ठाडो भइसकेको छ ।

नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने र भारतको सिनेमासँग जोडिएको अवार्ड कार्यक्रमलाई गर्न नदिइएको सन्देश जानुले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्न सक्छ । पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा व्यापक वृद्धि भइरहेको थियो । पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशीले मुटुमाथि ढुंगा राखेर अवार्ड नेपालमा नहुने भएको जानकारी दिए । अब यसको असर पर्यटन क्षेत्रमा पर्नेमा पर्यटन व्यवसायी चिन्तित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्