Logo

साइबर सुरक्षाका लागि सरकारको कडा निगरानी



काठमाडौं, १८ असार । सरकारले साइबर सुरक्षाको निर्देशिका जारी गर्दै सूचना प्रविधि प्रणालीको सुरक्षामाथि नकारात्मक असर पर्ने कुनै घटना हुन नदिन निगरानी गर्ने भएको छ । त्यस्ता घटनाको तत्काल जानकारी गराउने व्यवस्था समेत गरेको छ ।

आज सिंहदरबारमा साइबर अनुगमन केन्द्र उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटोले निर्देशिकाबारे जानकारी दिए । निर्देशिकामा निगरानी र घटनाको जानकारीका अलावा गोपनीयता कायम राख्ने समेत उल्लेख छ । अब नेपालभित्र साइबर सुरक्षाका लागि निगरानी गर्ने निर्देशिका बनेबाट साइबरसँग सम्बन्धित प्रणालीहरु निगरानी गर्न सकिने कानुनी व्यवस्था कार्यान्वयनमा पुगेको छ । साइबर सुरक्षासँग जोडिएका विषयमा निगरानी कडाईको व्यवस्था समेत गरिने उल्लेख छ ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ७९ को अधिकार प्रयोग गरी साइबर सुरक्षाको निर्देशिका जारी गरिएको मन्त्री बास्कोटाले बताए । निर्देशिका अनुसार राष्ट्रिय सहायता समूह गठन भई नेपालभित्र साइबर सुरक्षाको अवस्थाको निरन्तर अनुगमन गरिनेछ । साइबर सुरक्षासम्बन्धी काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सम्पर्क बिन्दुको रुपमा पनि काम गर्ने उल्लेख छ ।

राष्ट्रिय सुरक्षा समितिले तथ्यांकको संरक्षण तथा गोपनीयता कायम गर्ने जिम्मेवारी बहन गर्नेछ । राष्ट्रिय सुरक्षा, अर्थव्यवस्था, अत्यावश्यक सेवा, आकस्मिक सेवा, जनस्वास्थ्य वा सार्वजनिक सुरक्षासँग सम्बन्धित सूचना प्रविधि प्रणालीको सुरक्षामाथि नकारात्मक असर पर्ने कुनै घटना भएको जानकारी यथाशिघ्र राष्ट्रिय वा क्षेत्रगत समूहलाई जानकारी गराउने भनिएको छ ।

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको व्यवस्था गरी सरकारी वेवसाइट, वेव एप्लिकेशन तथा वेव सर्भिसेज तथा निर्देशक समितिले तोकेको अन्य महत्वपूर्ण वेवसाइट, वेव एप्लिकेशन तथा वेव सर्भिसेजमा हुन सक्ने सुरक्षा चुनौती तथा खतरासम्बन्धी व्यवस्था गर्नेछ । तस्वीरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्