Logo

पैसा खुवाउँदै तरकारी र फलफूलको ट्रक सीमा कटाउँदै



वीरगञ्ज, १९ असार । सरकारले विषादी प्रयोग जाँच नगरी तरकारी बोकेका मालवाहक सवारीलाई सीमा प्रवेश पास नदिने नीति लिएपछि नेपाल–भारत सीमानाकामा भ्रष्टाचार बढेको छ । रोकिएका तरकारी बोकेका ट्रकहरुसँग निश्चित रकम घूस दिएर सीमा कट्न थालेका छन् ।

सीमा क्षेत्रमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरिएपछि भारतबाट तरकारी आयातमा कडाई भएको थियो । सीमामा रोकिएका ट्रकहरुले सेटिङ मिलाएर घुस दिदै सीमा कट्न थालेका हुन् । घुसको रेट नै तोकेर २० देखि ३० हजार प्रति ट्रक पुगेको छ । भारतबाट तरकारी आयात गरी सीमा काटेका एक ट्रक चालकका अनुसार पैसा दिए सजिलै प्रवेश पाउन थालिएको छ ।

सीमामा सवारी साधन रोकेर नमूना काठमाडौं पठाउनुपर्ने र रिपोर्ट आएपछि मात्र प्रवेश पाउने नपाउने टुंगो लाग्ने गरेको छ । यो झन्झटबाट मुक्त हुन व्यवसायीले घुस दिएर मालवाहक सवारी साधन सीमा कटाउन थालेका हुन् ।

२ असारमा नेपाल सरकारले राजपत्रमा सूचना जारी गर्दै फलफूल र तरकारी नेपालमा आपूर्ति गर्दा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरेको थियो । परीक्षणका लागि काठमाडौंमा नमूना पठाउनुपर्ने भएपछि सीमानाकाको भन्सारमा मालवाहक सवारी रोकिन थालेका थिए ।

सरकारको नीतिप्रति भारतीय पक्षले गम्भीरता देखाएको छ । यसलाई नाकाबन्दीको शैली भन्दै सीमामा सवारी साधन रोकेर चेकजाँच काठमाडौंमा गर्न आउनुपर्ने व्यवस्था व्यवहारिक नभएको एक भारतीय अधिकारीले बताए । ‘विषादी परीक्षण ठिक छ तर सीमामा सवारी साधन रोकेर काठमाडौं परीक्षणका लागि आउनुपर्ने कहाँसम्म जायज हो ?’ उनले प्रश्न गरे ।

सरकारले राजपत्रमा सूचना निकाले नीति बनाएपनि सीमानाकाको क्वारेन्टाइन र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयसँग आवश्यक यन्त्र छैन । विषादी परीक्षणको मेसिन क्षेत्रीय गुण नियन्त्रण कार्यालयसँग नहुँदा काठमाडौंमा ल्याउनुपर्ने हुन्छ । त्यतिञ्जेल तरकारी तथा फलफूल कुहिनसक्ने हुँदा चालकले घुस दिएर सीमा काट्न थालेका छन् ।

मूल्य वृद्धि

भारतबाट आयात हुने तरकारी तथा फलफूलको आपूर्तिमा विषादी परीक्षणका कारण भएको कडाईले मूल्य वृद्धि भएको छ । अनार, स्याउ जस्ता फलफूलको मूल्य दोब्बर भएको छ । तरकारीको मूल्य २० देखि ५० प्रतिशतसम्म वृद्धि भएको छ ।

तरकारी भित्राउँदा घुस रकम बुझाएर आउँदा उपभोक्ता दोहोरो मारमा परेका छन् । एकातर्फ परीक्षण नगरिएका तरकारी भित्रिएका छन् भने ट्रक रोकिने र घुसका कारण लागत बढ्दा मूल्य वृद्धि भएको हो ।

सरकारले पूर्वतयारी विना परीक्षणको सामान व्यवस्था नगरी तरकारीमाथि लगाएको अवरोध हटाउन व्यवसायीले माग गर्दै आएका छन् । उनीहरुले कि त परीक्षणको व्यवस्था सीमानाकामा गर्न कि त अहिलेलाई स्थगित गर्न माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्