Logo

विषादी परीक्षण स्थगित भएपछि भारतबाट मालवाहक ट्रक प्रवेश



वीरगञ्ज, २० असार । सरकारले सीमानाकामा आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण हाललाई स्थगित गरेको छ । परीक्षणका लागि आवश्यक उपकरण सीमा नजिकैको परीक्षण केन्द्रमा नभएपछि नेपाल भारत सीमा नाकामा तरकारी र फलफूल बोकेका सयौं ट्रक रोकिएपछि स्थगित गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हाललाई परीक्षण स्थगित गरी पुरानै प्रक्रियाबाट तरकारी र फलफूल बोकेका मालवाहक सवारीलाई नेपाल भित्रन दिने जनाएको छ । यसअघि भारत सरकारका तर्फबाट भारतीय राजदूतावासले परीक्षण सीमा नजिकै गराउन या अहिलेलाई स्थगित गर्न भन्दै नेपाल सरकारलाई आग्रह गरेको थियो ।

ट्रकहरु नेपाल प्रवेश गराउन सीमामा कमिशनको चलखेल हुनथालिसकेको थियो । अब पुरानै प्रक्रियाबाट तरकारी तथा फलफूल आपूर्ति हुने भएपछि सीमामा रोकिएका मालवाहक सवारी साधन नेपाल प्रवेश गर्न थालेका छन् ।

इसअघि सीमामा सवारी साधन रोकेर नमूना काठमाडौं पठाउनुपर्ने र रिपोर्ट आएपछि मात्र प्रवेश पाउने नपाउने टुंगो लाग्ने गरेको थियो ।
२ असारमा नेपाल सरकारले राजपत्रमा सूचना जारी गर्दै फलफूल र तरकारी नेपालमा आपूर्ति गर्दा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरेको थियो । परीक्षणका लागि काठमाडौंमा नमूना पठाउनुपर्ने भएपछि सीमानाकाको भन्सारमा मालवाहक सवारी रोकिन थालेका थिए ।

सरकारको नीतिप्रति भारतीय पक्षले गम्भीरता देखाएको थियो । यसलाई नाकाबन्दीको शैली भन्दै सीमामा सवारी साधन रोकेर चेकजाँच काठमाडौंमा गर्न आउनुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै स्थगितको आग्रह गरेका थिए ।

सरकारले राजपत्रमा सूचना निकाले नीति बनाएपनि सीमानाकाको क्वारेन्टाइन र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयसँग आवश्यक यन्त्र छैन । विषादी परीक्षणको मेसिन क्षेत्रीय गुण नियन्त्रण कार्यालयसँग नहुँदा काठमाडौंमा ल्याउनुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्