Logo

नेपाल सरकारले विवादमा पारेको भन्दै आयोजक कानुनी उपचारमा जाने



काठमाडौं, २० असार । आइफा अवार्डको आयोजक कम्पनिले कार्यक्रम नेपालमा हुने नहुने अझै टुंगो नलगाएको खुलासा भएको छ । अवार्ड आयोजक कम्पनि विजक्राफ्ट इन्टरनेशनलले विज्ञप्तिमार्फत् नेपालले आयोजनाको अवसर पाइनसक्दै सार्वजनिक रुपमा विवाद गराएकोमा असन्तुष्टि व्यक्त गर्दै कानुनी कदम चाल्ने बताएको हो ।

२० औं संस्करणको इन्टरनेशनल इन्डियन फिल्म फेष्टिभल अवार्ड (आइफा अवार्ड)का लागि विश्वका धेरै देशहरु प्रतिष्पर्धामा रहेकोमा नेपाल पनि एक भएको विजक्राफ्टका निर्देशक आन्द्रे टिमिन्सले शुक्रबार विज्ञप्तिमा भनेका छन् । ‘नेपाल सन् २०१९ को आइफा अवार्डको आयोजनाका लागि प्रतिष्पर्धी देश हो, तर यसबारे टुंगो लागिसकेको छैन,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको सञ्चार माध्यममा नेपालमा आइफा अवार्ड आयोजनाबारे भइरहेको मिडिया गतिविधिमा आइफा आयोजक कम्पनि संलग्न नभएको उल्लेख छ । तर, आयोजनास्थलको टुंगो नलाग्दै सरकार समेत संलग्न भई भएका गतिविधिले कानुनी कदम चाल्ने अवस्थामा पुगेको बताएको छ ।

नेपाल सरकारले सार्वजनिक रुपमा आइफा आयोजनाबारे धारणा राख्नुले विजक्राफ्टलाई कानुनी कदम चाल्न बल प्रदान गरेको विज्ञप्तिमा भनिएको छ । आइफा अवार्डको आयोजनास्थलबारे टुंगो नलाग्दै नेपाल सरकारले सार्वजनिक रुपमा यसबारे बोल्ने र विवाद बनाउने गरेकाले यसबारे कानुनी कदम चाल्ने भनेको छ । विज्ञप्तिमा भनिएको छ,‘आइफाले नेपाललाई आयोजकका रुपमा निश्चित नगर्दै भएका गतिविधिका कारण यसबारे कानुनी कदम चाल्नेछौं ।’

सरकारले आइफा अवार्ड आयोजनाका लागि पर्यटन बोर्डलाई अनुमति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको निर्णय विवादमा परेपछि सरकारको निर्देशनमा बोर्डले आइफा अवार्ड नगर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्