Logo

मेटाउन खोजिएको ऐतिहासिक सप्तपाताल पोखरीमा माछा छाडिने



ललितपुर, २१ असार । लगनेखेलस्थित सप्तपाताल पोखरीमा मीननाथको जात्राको अन्तिम पूजा आज साँझ हुने भएको छ । सप्त पातालमा दुईवटा माछा विधिपूर्वक पूजा गरेर छाडिने स्थानीय पूर्ण श्रेष्ठले बताए । ती माछा मार्फत् नागराजलाई सन्देश पठाउने विश्वास छ ।

आज नै दुईवटा भङ्गेरा छाडिनेछ । भङ्गेरा भयमुक्त भएको सन्देश स्वर्गका राजा इन्द्रलाई पठाइने धार्मिक प्रचलन छ । पोखरी राजकुलो मार्फत् आउने पानी जम्मा गरी लगनखेल क्षेत्रलाई पानीको स्रोतको रुपमा राखिएको थियो । अहिले राजकुलो नष्ट भइसकेको छ । वर्षाको पानीले मात्र बचेको पोखरी भरिन्छ । गएराति पानी परेर सानो पोखरीमा केही पानी छ ।

लगनखेल, अशोक चैत्य र सप्त पाताल पोखरीको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्व छ । लगनखेलको अर्थ खुलाचौर हो । उक्त क्षेत्रमा अशोक चैत्य, नेपाली सेनाको राजदल गण ब्यारेक, नमूना मच्छिन्द्र माध्यमिक विद्यालय, ललितपुर जिल्ला अदालत, मालपोत कार्यालय, नापी विभाग, जिल्ला पशुसेवा कार्यालय र स्काउटको भवन छन् । यसमा रहेको अशोक स्तूप २३ सय वर्ष पुरानो हो ।

पोखरीको अस्तित्व मेटाउन खोजियो
पोखरीमा हजारौं वर्ष देखि परम्परा चलिआए पनि भूमाफियाले जग्गा कब्जा गर्ने क्रम चलि नै रहेको छ । ऐतिहासक तथ्य र जोताहा महलमा लगनखेल भएको आधार उल्लेख गर्दै सर्वोच्चको आदेश अनुसार ललितपुर महानगरपालिकाको कित्ता नम्बर १२६ को २०५ रोपनी ८ आना जग्गा अशोक स्तूपको क्षेत्र भएको सार्वजनिक जग्गा हो ।

सर्वोच्चले सरकारको नाममा नआउँदै सरकारको निर्णयले गठित शिक्षण संस्था सम्पत्ति व्यवस्था जिल्ला समिति, ललितपुरको २०३४ फागुन १२ को क्षेत्रफल १४ रोपनी १० आना दुई पैसा क्षेत्रफल भएको जग्गा विद्यालयको भन्ने जिकिर निराधार ठहर गरेको थियो ।

जग्गाबारे मुद्या परेपनि पेशी चढेको चढ्यै छ । अदालतले अझै अन्तिम फैसला दिन सकेको छैन । Photo: #Lagankhel Instagram



प्रतिक्रिया दिनुहोस्