Logo

वायु प्रदूषणले ज्ञान र गणितको क्षमता घट्ने



लामो समय वायु प्रदूषणमा पर्दा मानिसको ज्ञानसम्बन्धि क्षमतामा नकारात्मक असर पर्ने तथ्य पत्ता लागेको छ । इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटका वरिष्ठ शोधकर्ता तथा पेकिङ विश्वविद्यालयका प्राध्यापक जियाबो झाङसहित बेइजिङ नर्मल विश्वविद्यालयका सिन झाङ र याले विश्वविद्यालयका सि चेनले संयुक्त रुपमा गरेको शोधले वायु प्रदूषणको नकारात्मक असर शाब्दिक र गणितसम्बन्धि क्षमतामा पर्ने देखाएको हो ।

प्रोसिडिङ्स अफ दी नेष्नल एकेडेमी अफ साइन्सेस जर्नलमा प्रकाशित दी इम्प्याक्ट अफ एक्सपोजर टु एयर पोलुशन अन कग्नेटिभ पर्फमेन्स शिर्षकको लेखले ज्ञानसम्बन्धि क्षमतामा ¥हास ल्याउने तथ्यलाई चार वर्ष लामो गहन अनुसन्धानबाट पत्ता लगाएको हो । वायु प्रदूषणले मानिसको स्वास्थ्यमा मात्र असर पर्ने तथ्यहरु आइरहँदा नयाँ शोधले ज्ञानसम्बन्धि क्षमतामा समेत ¥हास ल्याउने तथ्य बाहिर ल्याएको हो ।

चीनमा झण्डै ३२ हजार लामो र छोटो समय वायु प्रदूषणमा परेका व्यक्तिलाई नमूनाका रुपमा छनोट गरी सन् २०१० देखि २०१४ सम्म निरन्तर ज्ञानसम्बन्धि परीक्षामा प्राप्तांकको अध्ययनपछि लामो समय वायु प्रदूषणमा परेकाको ज्ञानसम्बन्धि क्षमता घट्ने निष्कर्ष निकालिएको छ । वायु प्रदूषणमा जति धेरै प¥यो उति शाब्दिक र गणितसम्बन्धि क्षमतामा कमी आउने अध्ययनले देखाएको छ । गणितमा भन्दा शाब्दिक क्षमतामा झन् बढी कमी आउने शोधको निष्कर्ष छ ।

महिलामा भन्दा पुरुषमा बढी शाब्दिक क्षमतामा कमी आउने र उमेर बढ्दै जाँदा त्यसको नकारात्मक प्रभाव झन् बढदै जानसक्छ । ज्ञानसम्बन्धि क्षमता घट्न गई आर्थिक मूल्य समेत चुकाउनेपर्ने तर्क शोधले गरेको छ । ज्ञानसम्बन्धि ¥हासले वृद्धावस्थामा लाग्ने अल्जाइमर रोगका साथै अन्य मानसिक कमजोरी गराउने रोगहरु लाग्ने सम्भावना बढ्न सक्छ—शोधमा उल्लेख गरिएको छ ।

शोधको नमूना संकलन र कार्यक्षेत्र चीनलाई बनाइएपनि यो विश्वका प्रदूषित शहरहरुमा लागू हुने शोधकर्ताको भनाई छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा बढी वायु प्रदूषण रहेका विश्वका एक लाखभन्दा बढी क्षेत्रका बासिन्दाहरुमा समेत ज्ञानसम्बन्धि क्षमतामा ¥हास आइरहेको हुनसक्ने आशय शोधले गरेको छ ।

शोधलाई आधार मान्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड नाघेर वायु प्रदूषण भइरहेको काठमाडौं उपत्यकालगायत देशका केही शहरका बासिन्दामा ज्ञानसम्बन्धि क्षमतामा ¥हास आइरहेको हुनसक्छ । यसले भविष्यका कर्णधार भनिएका बालबालिका प्रत्यक्ष प्रभावित भई देशको आर्थिक र सामाजिक क्षेत्रमा समेत नकारात्मक असर पर्न सक्छ । वृद्धावस्थामा लाग्ने अल्जाइमरलगायत अन्य रोगको समेत खतरा बढ्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्