Logo

‘अपराधका बादशाह’ नसिम खान को हुन्



काठमाडौं, २१ असार । शक्तिको जसरी पनि अभ्यास गर्ने नसिम खान कपिलवस्तुमा बादशाह खानका नामले चिनिन्थे । कुनैबेला मोइत खान कपिलवस्तुका ‘बादशाह’ जस्तै थिए । उनको माओवादीले हत्या गरेपछि मोहम्मद नसिम खान कपिलवस्तुको ‘बादशाह’ बने ।
जसले नसिमलाई चुनौती दिन्थ्यो उसको ज्यान सम्म जान सक्थ्यो । परिवारका सदस्यलाई समेत हानी पुर्याइदिन्थे ।

नसिमको राजनीतिमा जहिले पनि पहुँच हुन्थ्यो । यतिसम्मकी उनले नेकपाबाट पत्नी फौजिया नसिम खानलाई प्रदेश ५ को समानुपातिकतर्फको सांसद बनाए ।

माओवादी द्वन्द्वकालमा उनी प्रतिकार समूहमा थिए । तत्कालिन माओवादीप्रति निकै कठोर उनले उसका कार्यकर्ताको हत्यामा भूमिका खेलेको आरोप लाग्दै आएको थियो । कपिलवस्तुका माओवादी नेताहरु शिवपुजन कुर्मी, ज्ञानबहादुर सुनार, अकाली धोवी, प्रेम परियार, राजेन्द्र तिवारीलगायतको हत्यामा उनको भूमिका रहेको अभियोग छ । त्यसैले, तत्कालिन माओवादी नेताहरु जो हाल नेकपामा छन् उनीहरुको खानप्रति नकारात्मक दृष्टिकोण रहेको छ ।

खान तराईका विभिन्न सशस्त्र समूहमा संलग्न रहे । आफ्नो सुरक्षा र उन्मुक्तिको सुनिश्चितताको शर्तमा हतियार बुझाएर सार्वजनिक भए । धेरैवटा आपराधिक घटना गराएकाले राज्यले पक्राउ गर्ने भयले उनले जुक्ति रचेका थिए । आफूविरुद्ध लागेका सबै मुद्दा फिर्ता हुने शर्तमा हतियार बुझाएका थिए । तर, उनले आपराधिक गतिविधि त्यागेनन् । बालक हत्यामा संलग्न रहेको आरोप लाग्यो ।

खानले सात वर्षीय बालक मोहम्मद आयामन खानको हत्या गरेको अभियोग छ । आयमन मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मदका छोरा हुन् । हत्या गरी फालिएको अवस्थामा भेटिएका आयमनको हत्यामा नसिम खान र उनकी पत्नी फौजिया नसिम संलग्न रहेको भन्दै फत्ते मोहम्मदले प्रहरीमा उजूरी गरेका थिए । नसिमसँग फत्तेको लामो दुश्मनी रहँदै आएको थियो ।

घटनापछि नसिम भारतको उत्तर प्रदेशस्थित अलीगढवा बस्दै आएका थिए । लुकिछिपी भारतमा बसेका उनी नेपालभित्र पक्राउ परेको प्रहरीले जनाएको छ । उनी राजधानीको एक होटलमा बस्दै आएका थिए । सांसदका पति हुनुले उनलाई पक्राउ गर्न माथिल्लो तहबाट निर्देशन आएको बुझिएको छ ।

खानमाथि सुपारी लिएर हत्या गरेको अभियोग समेत छ । हतियार, चन्दा आतंक, अपहरणमा उनको संलग्नताको आरोप छ । यीनी अभियोगमा उनी शुक्रबार पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई राजधानीबाट पक्राउ गरेको थियो ।
खानले पत्नी फौजिया नसिम खान पक्राउबाट जोगाउन पहल गर्दै आएकी थिइन् । तर, उनको केही लागेन । नसिम पक्राउ परे । फौजिया पनि नसिमको पक्राउपछि अप्ठ्यारोमा परेकी छिन् । उनीमाथि पनि हत्याको अभियोग छ ।

नसिममाथि तत्कालिन माओवादीले बदलाको शैली देखाएको दाबी उनी निकटस्थले गरेका छन् । तत्कालिन माओवादीसँग उनको पुरानो दुश्मनी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्