Logo

बल्नै छाडे उपत्यकाका ट्राफिक बत्ती



काठमाडौं २२ असार । सरकारको बेवास्ताका कारण काठमाडौं उपत्यकाका ट्राफिक बत्ती वर्षौंदेखि नबली बेवारिसे अवस्थामा छन् ।

ट्राफिक बत्तीको मर्मत सम्भार तथा नयाँ बत्ती जडानमा सरकारले चासो र तत्परता नदेखाउँदा ट्राफिक व्यवस्थापनमा समेत दिन प्रतिदिन जटिलता थपिँदै गएको छ

१२ लाख बढी सवारी गुडिरहने काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी हातकै इसारामा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् ।

ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिएको छ भने पैदल यात्रु र सवारी चालकले पनि अनावश्यक हैरानी खेप्नुपरेको छ ।

हाल काठमाडौं उपत्यकामा बेलाबखत ४/५ ठाउँमा मात्र बत्ती बल्ने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त त उपत्यकामा बत्ती नै बल्न छाडेको बताउँछन् ।

उनले सम्बन्धित स्टेक होल्डरसँग समन्वय गर्ने, पत्राचार गर्ने र सुझाव दिने काम गरिरहे पनि ट्राफिक बत्तीको उचित व्यवस्थापन नभएको बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले आठ मिटरभन्दा माथिको सडकमा सडक बत्ती बनाउने काम सडक विभागको भए पनि जिम्मेवारी पूरा नगरेको बताए ।

‘हामीले बनाउन अनुरोध गरेका हौं । विभाग बनाउँछौं, बत्ती हाल्छौं भन्छ तर अहिले पनि बनेन,’ उनले राजधानीसँग भने ।

उपत्यकाभित्र हाल बानेश्वर चोक, सल्लाघारी, गठ्ठाघर, जडीबुटी चोक र महाराजगन्ज चोकमा रहेका ट्राफिक लाइट बल्छन् तर तीमध्ये केही बल्दैनन् ।

२०३७ सालमा जाइकाले उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । त्यसपछि केही वर्ष बत्ती बले पनि फेरि बत्ती बल्न बन्द हुन पुगेको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्