Logo

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा



असार २२, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने छ । यसका अतिरिक्त सरकारका काम कारबाहीबारे पनि बैठकमा यसका अतिरिक्त सरकारका काम कारबाहीबारे पनि बैठकमा छलफल गरिने बताइएको छ ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू शनिवार गुटगत रणनीतिमा व्यस्त थिए । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने योजनामा तल्लीन देखिएका थिए ।

यस क्रममा दुवै पक्षका नेताले शनिबार आफ्ना गुटसँग छलफल गरेका थिए । यद्यपी कतिपय विषयमा भने देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाबीच सहमति जुटेको थियो ।

बैठकमा पार्टीको संशोधित विधानअनुसारको नियमावली संशोधन गर्न गठित मस्यौदा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । नियमावली पारित भएपछि मात्र पार्टीका संरचना निर्माणको बाटो खुल्ने छ ।

देश संघीय संरचनामा गए पनि त्यसअनुसार कांग्रेसको पार्टी संरचना निर्माण भएको छैन । देउवा र पौडेल पक्षबीच ६० र ४० को अवधारणाअनुसार संरचना निर्माणको विषयमा छलफल हुँदै आए पनि सहमति भएको छैन ।

बैठक बस्नुअघि पनि दुवै पक्षका नेताहरूले आ–आफ्नो तयारी गरेका छन् । देउवापक्ष पार्टीका संरचना सहमतिका आधारमा निर्माण गर्ने पक्षमा रहे पनि पौडेल पक्ष निर्वाचनको पक्षमा देखिएको छ । यससँगै पौडेल पक्षले १४ औं महाधिवेशनको सुनिश्चिततामा जोड दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्