Logo

विश्वकप क्रिकेटमा ४ शक्तिराष्ट्र : कसले मार्ला बाजी ?



असार २२, काठमाण्डौ । विश्वकप क्रिकेटको पहिलो चरणको खेल सकिएको छ । १० टिम सहभागि प्रतियोगितामा सेमिफाइनल समिकरण पनि पूरा भइसकेको छ । राउन्ड रोविन लिगमा प्रतिस्पर्धा भएपछि भारत, अष्ट्रेलिया, इङ्ल्यान्ड र न्यूजिल्याण्डले अन्तिम चारमा स्थान बनाएका हुन् ।

इङ्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको आइसीसी विश्वकप क्रिकेट २०१९ मा अपेक्षाअनुसार र ठूला चार टिम सेमिफाइनल पुगेका छन् । भारत, अष्ट्रेलिया, इङ्ल्यान्ड र न्यूजिल्याण्डले अन्तिम चारमा स्थान बनाएका हुन् । लिगमा कूल ४५ खेलपछि श्रीलंका, पाकिस्तान, वेष्ट इण्डिज, बंगलादेश, दक्षिण अफ्किा र अफगानिस्तान भने बाहिरिए । सेमिफाइनल र फाइनल गरी अब बाँकी ३ खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने निश्चित छ । लिग चरणमा भारत पहिलो, अष्ट्रेलिया दोस्रो, इङ्ल्यान्ड तेस्रो र न्यूजिल्याण्ड चौथो भएर सेमिफाइनल पुगेका हुन् ।

भारत :

एक खेल मात्रै हारेर अंकतालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको भारत विश्व वरीयतामा २ स्थानमा छ । यस पटक कुनै पनि टिम लिगमा अपराजित रहेन । तर भारत सबैभन्दा कम खेल हार्ने टिम बन्यो । लिगका ९ मध्ये ७ खेल जितेको भारतले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो भने घरेलु टोली इङ्ल्यान्डसँग मात्र हार बेहोरेको थियो । भारतका रोहित शर्माले ५ शतक प्रहार गर्दै एउटै विश्वकपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने कीर्तिमान बनाइसकेका छन् । उनै रोहित भरपर्दा र विश्वासिला खेलाडिको रुपमा देखा परेका छन् ।

अष्ट्रेलिया :

अंक तालिकाको दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको अष्ट्रेलिया विश्व वरीयता ३ स्थानमा छ । सर्वाधिक ५ पटकको च्याम्पियन अष्ट्रेलिया डिफेन्डिङ च्याम्पियन समेत हो । यसअघि सात पटक सेमिफाइनल खेलेको अष्ट्रेलिया सेमिफाइनलमा पराजित भएको छैन। सात पटक नै फाइनल खेलेको उसले ५ पटक उपाधि जितेको हो । डेभिड वार्नर एक वर्षभन्दा बढी समयको प्रतिवन्धपछि यसै विश्वकपबाट राष्ट्रिय टिममा फर्केका थिए । वार्नरले यस पटक ३ शतक प्रहार गरिकसका छन् ।

इङ्ल्यान्ड :


अर्को सेमिफाइनलिष्ट हो आयोजक राष्ट्र इङ्ल्यान्ड । विश्व वरीयतामा १ नम्बरमा रहेको इङ्ल्याण्ड अहिले उत्कृष्ट टिम मानिन्छ । ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट रहेको इङ्ल्यान्ड भारत र न्यूजिल्याण्ड जस्ता टोलीलाई हराउँदै सेमिफाइनल पुगेको हो । सन् १९९२ पछि पहिलो पटक सेमिफाइनल पुगेको इङ्ल्यान्ड अब फाइनल पुग्ने लक्ष्यमा छ। १९९२ मै फाइनल खेलेको इङ्ल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो । अहिलेसम्म ३ पटक फाइनल पुगेर पनि इङ्ल्यान्डले उपाधि जित्न सकेको छैन ।

न्यूजिल्याण्ड :

विश्व वरियतामा ४ नम्बरमा रहेको न्यूजिल्याण्ड अंक तालिकामा पनि चौँथो स्थानमा रहेर सेमिफाइनलको यात्रा तय गरेको हो । चार वर्षअघि छिमेकी अष्ट्रेलियासँग संयुक्त रुपमा विश्वकप आयोजना गर्दा न्यूजिल्याण्डले पहिलो पटक फाइनल खेलेको थियो । तर अष्ट्रेलियासँग नै फाइनलमा पराजित भएपछि किवी टोलीले उपविजेतामै चित्त बुझायो । सातौँ पटक सेमिफाइनल पुगेको न्यूजिल्याण्डले लगातार चौथो पटक सेमिफाइनल खेल्न लागेको हो। किवी टोलीको सेमिफाइनल रेकर्ड भने खराब छ। अहिलेसम्मको ६ सेमिफाइनल खेल्दा १ पटक मात्र उसले यो चरण पार गरेको छ ।

पहिलो सेमिफाइनल ९ जुलाईमा भारत र न्यूजिल्याण्ड तथा दोस्रो सेमिफाइनल ११ जुलाइमा अष्ट्रेलिया र इङ्ल्यान्ड भिड्नेछन् । यी चार राष्ट्र आइसीसी ओडिआई वरीयतामा पनि शीर्ष चार भित्रै छन् । त्यसैले पनि प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । फाइनल खेल ११ जुलाईमा हुने छ ।



प्रतिक्रिया दिनुहोस्