Logo

सुन्दरताको लागि छालाको सुरक्षा, के गर्ने के नगर्ने ?



सुषमा महरा

मनिसको अनुहार सौन्दर्य र स्वास्थ्यको दर्पण हुन्छ । किशोरी, युवती तथा वृद्धाले समेत सबैले आफ्नो छालालाई सुन्दर राख्ने कोसिस गर्दछन् । तैपनि अनुहारमा प्राकृतिक गुणको अभाव स्पष्ट देखिन्छ र यो रोगग्रस्त हुन जान्छ । छालाको सफाइ र कोमलताका लागि प्रत्येक दिन छालाको हेरचाह गर्नु आवश्यक हुन्छ । यसो गर्नाले असमयमा नै बुढ्यौलीपन देखिने समस्या हट्दछ र मानिस स्वस्थ तथा जवान रहिरहन्छ ।

दिनभरिको परिश्रमले हाम्रो छालामा धुलोमैलो टाँसिन्छ । यसका लागि हामीले सबैभन्दा पहिले छालाको सफाइमा ध्यान दिनु पर्दछ । छालाको सफाइ यसको प्रकार अनुरूप गुर्नपर्दछ अर्थात् छालाको सफाइका लागि सर्वप्रथम छालाको प्रकृतिलाई बुझ्नु पर्दछ ।

सामान्यतया मानव शरीरमा हुने छाला चार प्रकारका पाइएका छन् :
१) शुष्क छाला : यस प्रकारको छाला सुख्खा हुन्छ । यस्तो छाला भएको अनुहारमा सुख्खा दाग हुनुका साथै निधार र गालामा चाउरी पर्दछ ।

२) तैलीय (चिल्लो) छाला : यस प्रकारको छाला भएको अनुहारमा चमक देखिन्छ । यस्तो छालामा ब्लैक हेड्स, धब्बा तथा डन्डीफोर आउँछ ।

३) संवेदशील छाला : यस प्रकारको छालामा मौसम र प्रशाधन सामग्रीको प्रभाव छिट्टै पर्छ । धेरै चिसो वा गर्मीमा छाला छिट्टै रातो हुन जान्छ ।

४) मिश्रित प्रकृतिको छाला : यस प्रकारको छाला भएको अनुहारको निधार, नाक र चिउँडोको आसपासको स्थानमा छालाका भागलाई टी—जोन भाग मानिन्छ । यस जोनमा दाग धब्बा अधिक मात्रामा हुने गर्दछ ।

शुष्क छालाको हेरचाह
यस्तो छालाको तन्तु कागज जस्तै नाजुक हुन्छ । छालामा गडवडी नआओस् भन्नाका लागि यसको हेरचाह ज्यादै सावधानीले गर्नु पर्छ ।
क्लिन्जिङ् : सबैभन्दा पहिले औंलाले हल्का मालिस गर्दै अनुहारमा क्लिन्जिङ क्रिम लगाउनु पर्दछ । यदि औँलाले यो क्रिम पूरा अनुहारमा फैलाउन सकेन भने हत्केलाले फैलाउनु राम्रो हुन्छ । यस पश्चात् टिस्यु पेपरले वा रुईले क्रिम पुछेर फेरि त्यही क्रिया (क्रिम लगाउने र हटाउने) दोहो¥याउनु पर्छ । क्रिम लगाउने र पुछ्ने क्रमसँगै अनुहारबाट गर्धनतर्फ पनि मालिस गर्नुपर्छ ।

टोनिङ् : क्लिन्जिङ क्रिमलाई पूर्णरूपले अनुहारबाट पुछेपछि अल्कोहल रहित टोनरको प्रयोग गर्नुपर्छ । टोनरका रूपमा पूmल वा मिनरल वाटर वा दुवैलाई प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारमा रुइले हल्का फिँजाई दिनुपर्दछ र फेरि यसलाई पुछ्नु हुँदैन, बरु अनुहारको सम्पूर्ण भागमा टिस्यु पेपर फैलाएर यसलाई सुक्न दिनु पर्छ ।

मोस्चराइजर : नियमित रूपले प्रात कालमा अनुहारमा मोस्चराइजर लगाउनु पर्दछ । आँखा वरिपरि तथा गर्धनमा क्रिम लगाउन मन लागेमा त्यो पनि लगाउनु पर्दछ । यति गरिसकेपछि तपाईँको छाला मेकअपका लागि तयार हुन्छ ।

तैलीय छालाको हेरचाह
यस्तो छाला भएको अनुहारमा नरम रुइले दूध वा जेलयुक्त क्लिजर लगाउनु पर्छ । क्लिजर पूरा अनुहारमा मोलेर लगाउनु हुँदैन बरु हातले हल्का रूपमा टि—जोनमा वा पूरा अनुहारमा दुईपटक लगाउनु पर्छ । अधिक तैलीय देखिएको अवस्थामा तेस्रो पटक पनि लगाउन सकिन्छ । नरम रुइ वा टिस्यु पेपरका सहायताले क्लिजर पुछ्नु पर्दछ । पुछ्ने बेलामा ओठको तल्लो भाग वा चिउँडोको बीचको भाग राम्ररी पुछ्नु पर्दछ ।

टोनिङ् : यदि छाला अधि तेलयुक्त (चिल्लो) छ भने अल्कोहलयुक्त टोनरको प्रयोग गर्न सकिन्छ । यस्तो छालालाई पानीले सफा गरेर मात्र क्लिजर लगाउनु उपयुक्त हुन्छ ।

मोस्चराइजर : तैलीय अनुहारको छालामा, तेलयुक्त भागमा मोस्चराइजर लगाउनु आवश्यक हुँदैन । यस प्रकारका छालामा विशेष रूपले निर्मित मोस्चराइजरको प्रयोग गर्नुपर्दछ ।


संवेदनशील छालाको हेरचाह

यस प्रकारको छालाका लागि क्लिजिङ्, मोस्चराइजर आदि प्रशाधनहरूको सावधानीपूर्वक छनौट जरुरी हुन्छ । यी उत्पादनमा कुनै पनि प्रकारको सुगन्धको प्रयोग भएको हुनु हुँदैन । हाइपोएजिनिक सौन्दर्य प्रशाधनको प्रयोग लाभदायक हुन्छ ।

क्लिन्जिङ् : यस प्रकारको छालालाई दिनमा दुई वा तीन पटक क्लिन्जिङ्ले सफा गर्नु पर्दछ । यदि क्लिन्जर, लोसन वा तरल रूपमा छ भने लगाउनु भन्दा अगाडि कुनै पनि प्रकारको संक्रमणको खतरा नहोस् भनेर राम्ररी हात धुनु पर्दछ । तपाईँले क्लिन्जर लगाउनुभन्दा पहिले मुख धुन सक्नुहुन्छ । अनुहार पुछ्नका लागि तौलियाको प्रयोग गर्नु हुँदैन । टिस्यु पेपरको प्रयोग गर्नु राम्रो हुन्छ ।

डन्डीफोर वा ब्ल्याक हेड्स छ भने त्यसलाई हटाउनका लागि उपकरणको प्रयोग गर्नु हुँदैन । यदि कम मात्र डन्डीफोर भएमा त्यसलाई सावधानीपूर्वक सफा गर्नु पर्दछ । अनुहारको छालालाई नरम बनाउनका लागि तातो पानीको बाफ अनुहारमा लिने वा तातो पानीले नुहाउने गर्न सकिन्छ । सर्जिकल स्प्रितले वा एन्टिसेप्टिक घोलले डन्डीफोर वा ब्ल्याक हेड्सबाट प्रभावित भागलाई संक्रमणरहित बनाउन सकिन्छ । औंलामा टिस्यु पेपर बेरेर हल्कासँग हातले ब्ल्याक हेड्स वा डन्डीफोर निचोरेर निकाल्न सकिन्छ । निक्लिएन भने जवर्जस्ती गर्नु हुँदैन । यस्तो अवस्थामा डाक्टरको परामर्श लिनु राम्रो हुन्छ ।

टोनिङ् : यदि दागको समस्या छैन भने फ्रेसनरको प्रयोग गर्न सकिन्छ । तेज एस्ट्रिजेन्टले छालाको चिल्लोपन र आद्र्रतालाई नष्ट गर्न सक्दछ जसका कारण छाला कठोर बन्दछ । यसकारण मिनरल वाटर वा गुलाव जलको प्रयोग गर्नु लाभदायी हुन्छ ।

मोस्चराइजर : अनुहारको सुखा भागमा मात्र मोम्चराइजरको प्रयोग गर्नु पर्दछ । गर्धन, आँखामा आसपासको भाग र गालाको भाग यस्तो सुख्खा भाग हुन सक्दछ ।

मिश्रित प्रकृतिको छालाको हेरचाह

केही शुष्क र केही तैलीय भागले युक्त मिश्रित प्रकृतिको छालाको सफाइ पनि अलग प्रकारले गर्न सकिन्छ । शुष्क भागको छालाको तैलीय भागको छालाभन्दा भिन्न प्रक्रियाबाट हेरचाह गर्न सकिन्छ ।

क्लिन्जिङ् : शुष्क र तैलीय भागलाई अलग अलग क्लिन्जरले सफा गर्नु पर्दछ । आवश्यकता भएका खण्डमा तैलीय भागलाई दुई पटक क्लिन्जरले सफा गर्न सकिन्छ ।

टोनिङ् : शुष्क छालाका लागि आंशिक रुपमा र तैलीय छालामा सम्पूर्ण रूपले टोनरको प्रयोग गर्न सकिन्छ । अनुहारको सम्पूर्ण भागमा अल्कोहल रहित टोनरको प्रयोग गर्नु पर्दछ ।

मोस्चराइजर : शुष्क छाला भएको भागमा मोस्चराइजर क्रिम लगाउनु पर्दछ । अनुहारको तैलीय भागमा यसलाई लगाउनु आवश्यक छैन, तर यस भागमा तैलीय भागका लागि निर्मित लोसन लगाउन सकिन्छ ।

सुषमा महरा
फेसियल हाउस
महिला उद्यमी र बरिष्ट बिउटिसियन



प्रतिक्रिया दिनुहोस्