Logo

प्रचण्डको निशानामा मन्त्री गोकुल बास्कोटा !



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिमण्डल पूनगर्ठनबारे लगातार आवाज उठाउँदै आएका छन् । तर, अध्यक्ष दाहालले आज सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई मुख्य निशाना बनाएका छन् । मन्त्री बाँस्कोटाको कामकारबाहीप्रति आफ्नो गम्भिर असन्तुष्टि रहेको बताउँदै प्रचण्डले सार्वजनिक रुपमै आलोचना गरेका छन ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको आइतबार काठमाडौंमा आयोजित महाधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मन्त्री बाँस्कोटाको काम मन नपरेको सुनाएका हुन् । नेपाल टेलिकमलाई कमजोर बनाउने गरी मन्त्री बास्कोटा नविकरण दस्तुर तोक्नेलगायतको काम गरिएको भन्दै मन्त्री बाँस्कोटाप्रति असन्तुष्टि जनाएका हुन्। टेलिकमलाई किन कमजोर बनाउने काम भयो ? भनेर आफूले मन्त्री बाँस्कोटालाई बोलाएरै सोधपुछ गरेको पनि प्रचण्डले सुनाए ।

‘आगामी अधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय सहमतीबाट गर्नेछौं ‘

प्रचण्डले आगामि अधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय आफूहरुले सहमती र समझदारीबाट गर्ने स्पष्ट पारे । उनले भने,‘हामीले पार्टी एकताको घोषणा गर्दा एउटा कुरा बडो सोचविचार गरेर सहमति गरिएको छ । आउने अधिवेशन हाम्रो एकताको महाधिवेशन हुनेछ, एकताको महाधिवेशनमा विचार, राजनीति र नेतृत्व सम्बन्धी निर्णय सहमतिको आधारमा गर्नेछौँ । अल्पमत वा बहुमतको आधारमा गर्ने छैनौँ भनेर हामी सबैले हस्ताक्षर गरेका छौँ ।’

आज बिहानमात्रै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नोबीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको पनि दाहालको भनाई छ । उनले भने,”भोलि त्यो प्रकाशनमा जाँदैछ, पार्टी एकताका सन्दर्भमा यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ ।”



प्रतिक्रिया दिनुहोस्