Logo

८० माथिका वृद्धवृद्धा ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’: सुविधा शून्य



काठमाडौं २३ असार । ८० वर्ष नाघेका वृद्धवृद्धाले अब ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’को दर्जा पाउने भएका छन्। ज्येष्ठ नागरिकको सम्मानका लागि भन्दै प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले ‘अति वरिष्ठ ज्येष्ठ’ नागरिकको सम्मान दिने निर्णय गरेको हो।

ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि दफावार छलफलमा दुई प्रकारका ज्येष्ठ नागरिक राख्ने पारित भएको हो। यस्ता नागरिकलाई सुविधा दिने विषयमा भने केही उल्लेख छैन। ‘हामी अहिले दर्जाका विषयमा मात्र प्रवेश गरेका छौँ’, सांसद लक्ष्मी परियारले भनिन्, ‘सुविधाको विषय दफावार छलफलमा आउँछ।’

सांसद दिव्यमणि राजभण्डारी, देवेन्द्रराज कँडेल र सुजता परियारको संशोधनलाई समितिले पारित गर्दै ७० माथिका नागरिकलाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’ र ८० माथिकालाई ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’ भन्ने सहमति भएको हो। ‘उहाँहरूको सम्मानका लागि पनि अति वरिष्ठ शब्द राखेर जाऔँ’, राजभण्डारीले भने, ‘सम्मान दिनलाई किन हिचकिच्याउने?’

केही सांसदले शब्दको मात्र सम्मानप्रति आपत्ति जनाएका छन्। उनीहरूले ज्येष्ठ नागरिकलाई विषेश सुविधा दिन सके मात्रै वरिष्ठ ज्येष्ठ नागरिकको सम्मान दिनुपर्ने बताए। ‘हामीले अति वरिष्ठ भनेर शब्दमा मात्रै भन्ने हो भने त्यसको केही महत्त्व छैन’, सांसद विमला विश्वकर्माले भनिन्, ‘अति वरिष्ठ ज्येष्ठ नागरिक भने जस्तै सुविधा पनि त्यहीअनुसार दिएर अघि बढ्नुपर्छ।’

अति वरिष्ठ ज्येष्ठ नागरिक राखिसकेपछि कानुनमै उनीहरूले ठोस स्थान पाउनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए। संशोधनकर्ता सांसद सुजता परियारले अति वरिष्ठ ज्येष्ठ नागरिक राखिसकेपछि अब उनीहरूका लागि विशेष सुविधान राखेर जानुपर्ने भन्दै मन्त्रालयलाई त्यसको तयारी गर्न आग्रह गरिन्।

यस्तै, विधेयकको प्रस्तावनामा भने परिवर्तन गरिएको छैन। प्रस्तावनामै सांसद प्रेम सुवालले संशोधन हालेका थिए। सुवालले प्रस्तावनाको सुरुवमा ‘ज्येष्ठ नागरिकको अनुभव लिपीवद्ध गरी नयाँ पुस्तालाई प्रशिक्षित गर्न देशभरिका टोल–टोलमा ज्येष्ठ नागरिक आदर निकेतन स्थापन गर्ने’ वाक्यांश समावेश गर्न प्रस्ताव गरेका थिए। तर समितिले यो वाक्यांश प्रस्तावनामा राख्न नहुने निष्कर्ष निकालेको छ। ‘प्रस्तावनामा आदार निकेतको कुरा राख्न उचित देखिएन’, समिति सभापति निरुदेवी पालले भनिन्, ‘यी कुरा त दफाहरूमा आउने हुन्।

यसलाई दफावार छलफलमा समावेश गर्ने कुरा भएको छ।’विधेयकको प्रस्तावनामा ‘ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले संघीय संसदलेयो ऐन बनाएको छ’ भन्ने उल्लेख छ।

ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा २ (क) मा ६० वर्ष पूरा भएकालाई ज्येष्ठ नागरिक मानिन्थ्यो। तर, संशोधनपछि ७० माथिका वृद्धवृद्धालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’ र ८० वर्षमाथिकालाई ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’को रुपमा परिभाषित गरिएको छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्