Logo

सचिवले गुमराहमा पारेको भन्दै मन्त्री यादवले खोले तरकारीको रहस्य



काठमाडौं, २३ असार । पूर्वाधार तयार नगरी भारतबाट आपूर्ति हुने तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र प्रवेश दिने सरकारी निर्णयमा कर्मचारीको चलखेल खुलेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले २३ असारमा कर्मचारीले गलत सूचनाहरु दिएकाले सरकारले निर्णय लिएको तर पूर्वाधार तयार नभएको पछिमात्र थाहापाएको खुलासा गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले वाणिज्य तथा आपूर्ति केदारबहादुर अधिकारीतर्फ संकेत गर्दै आफूलाई सचिवले भ्रममा राखेको आरोप समेत लगाए । उनले भने, सचिवले मलाई गुमराहमा राखे । वाणिज्यको जिम्मेवारी अधिकारीले लिदै आएका छन् । पूर्वाधार तयार नगरी तरकारीको आपूर्तिमा विषादी परीक्षणको नियम कार्यान्वयन गराउनमा कृषि मन्त्रालयसँग समन्वय गरेर अधिकारीले सक्रियता देखाएका थिए ।

सचिवप्रति निकै कडा रुपमा प्रस्तुत भएका उनले परीक्षणका लागि पूर्वाधार सीमानाकामा भएपछि कार्यान्वयन गरिने स्पष्ट पारे । भारतको दबाबमा आएर निर्णय लिएको भन्ने झुटो भएको बताए । सरकारले परीक्षण गर्ने निर्णयबाट पछि हटेको नभई स्थगित गरेको बताए ।
यसैगरी, राष्ट्रिय सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै मन्त्री यादवले कृषि मन्त्रालयसँग सीमानाका भएर आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नभएको बताए । क्षमता नहेरी विषादी परीक्षणको निर्णय गर्नुलाई अपरिपक्व भन्दै आलोचना गरे ।

यसअघि कृषिमन्त्री चक्रपाणि खनालले विषादी परीक्षणको पूर्वाधार तयार गर्न कम्तिमा एक वर्ष लाग्ने अभिव्यक्ति दिएका थिए । उनले सरकारले प्राविधिक कमजोरीका कारण परीक्षण स्थगत गरेको बताए ।

सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी सीमानाकामा तरकारी तथा फलफूलको विषादी परीक्षणको निर्णय भएपनि पूर्वाधार पर्याप्त नभएको खुलेको थियो । तर, सरकारले नियम बनाएर लागू गर्न तम्सियो । भारतबाट आपूर्ति हुने तरकारी सीमा नाकामा रोकिदा नाकाबन्दीको अवस्था बन्यो । भारतीय पक्षले कि परीक्षण सहज बनाउन सीमा पोष्ट नजिकै प्रयोगशाला राखेर चेकँजाँच गर्न कि अहिलेलाई स्थगित गर्न पत्राचार गरेको थियो । तर, सरकारले तत्काल उपकरणको व्यवस्था मिलाउन सकेन । २० असारमा वाध्य भएर अहिलेलाई परीक्षण स्थगित गर्ने निर्णय लिएको थियो । Photo: File



प्रतिक्रिया दिनुहोस्