Logo

सुरेन्द्र कोइरालालाई २२४ अंक थपी त्रिविको स्वर्णपदक, उच्च श्रेणीमा तीन डिग्री



काठमाडौं, २३ असार । त्रिभुवन विश्वविद्यालयमा विभिन्न विषयमा सर्वोत्कृष्ट अंक ल्याई स्वर्णपदक जित्नेको मान र शान बेग्लै हुन्छ । उनीहरुले पदक थाप्दा गर्विलो छानि बनाउँछन् । तर, एउटा यस्तो घटना सार्वजनिक भएको छ जसले स्वर्णपदकमा शंका जन्माएको छ ।
घुस खुवाएर अंक थपेर स्वर्णपदक दिलाउने गिरोह त्रिभुवन विश्वविद्यालयको परीक्षा शाखाभित्र पत्ता लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरोहको जालो तोडेर गहिरो अनुसन्धान समेत पूरा गरेको छ । उनीहरुमाथि विशेष अदालतमा २३ असारमा मुद्दा समेत दायर भइसकेको छ ।

कसरी थपे अंक

गिरोहले त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुको परीक्षाको नम्बर फेरबदल गराउँथे । गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्यले रकमको लोभमा अंक थपेर स्वर्णपदक सम्म दिलाइदिन्थे ।

त्रिभुवन विश्लविद्यालयको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुघपार्टीमा आंशिक शिक्षक थिए सुरेन्द्र प्रसाद कोइराला । अर्थशास्त्र विषयको स्नातकोत्तरमा उनले स्वर्णपदक ल्याए । सन् २०१९ मा उनी स्वर्णपदकको हकदार बने । साथीभाई इष्टमित्र सबैले वाइवाइ गरे । उनी स्वर्णपदक ल्याउने स्तरका थिएनन् । तर, कसरी ल्याए ? चिनेजानेकाले चासो देखाए ।

यसमाथि उजूरी परेपछि छानविन हुँदा अख्तियारले डरलाग्दो तथ्य फेला पार्यो । गोप्य शाखाका अधिकृत रामबहाुदर कर्माचार्यलाई डेढ लाख दिएर अंक थप्न लगाएका थिए । सबै परीक्षार्थीहरुभन्दा बढी अंक आउन २२४ अंक थप्नुपर्ने भयो । उनले कुल २२४ अंक थपिदिए ।

कर्माचार्यलाई पैसा खुवाउँदै एकपछि अर्को डिग्री लिए कोइरालाले । ग्रामिण विकासमा प्रथम श्रेणीमा स्नातकोत्तर गरे । हुँदा हुँदा एमए समाजशास्त्रको परीक्षामा अनुपस्थित हुँदा पनि उत्तीर्ण गराइदिए । पैसा र संगतको बलमा तीनवटा डिग्री त्यो पनि गोल्ड मेडलसहित ।

तीनवटा विषयमा कुल १५ वटा पेपरमा तीन देखि ५० नम्बरसम्म थपिदिएका थिए । सबै गर्दा सुरेन्द्र प्रसाद कोइरालालाई कुल २२४ अंक थपिदिए । अख्तियारका अनुसार उनले गोपनीयता भङ्ग मात्र नगरी पदको दुरुपयोग गरी परिणाम नै फेरबदल गर्न भूमिका खेले ।
अर्का परीक्षार्थी केदार भट्टराईले अर्थशास्त्रमा हासिल गरेको डिग्रीको पाँच वटा विषयमा प्रत्येकमा १० १० अंक गरी ५० अंक थपिदिए । यसवापत् तीन लाख रुपैयाँ लिए । अंक थपेपछि उनको प्रथम श्रेणी आयो ।

केदार भट्टराई बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरमा प्रशासनिक अधिकृत छैंठौं तहमा छन् । परीक्षामा अंक फेरबदल गर्न उनले तीन लाख खर्च गरेको सप्रमाण पुष्टि भएको अख्तियारले जनाएको छ । उनीहरुमाथि हदैसम्म कारबाहीको मागपत्र सहित विशेष अदालतमा आरोपपत्र दायर भएको छ ।



प्रतिक्रिया दिनुहोस्