Logo

नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान



काठमाडौं, २४ असार । आइसिसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टिम मंगलबार मलेसिया प्रस्थान गरेको छ। सिंगापुरमा आगामी साउन ६ देखि हुने विश्वकप छनोटअघि नेपालले मलेसियामा १० दिन अभ्यास गर्न लागेको हो। अभ्यासका दौरान नेपालले मलेसियासँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रम छ। नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले मंगलबार विदाई गरे।

विदाईपछि नेपालका कप्तान विश्वकप छनोटमा कुनै टिमलाई कमजोर नआँक्ने बताए। अर्को चरणमा पुग्न सबै खेल जित्नुको विकल्प नभएको पनि कप्तान खड्काको भनाइ छ। एसिसी यू-१९ इस्टन रिजन प्रतियोगिता खेल्न मलेसियामा रहेका पवन सर्राफ र रोहितकुमार पौडेलले उतैबाट टिममा समावेश हुनेछन्।

१० दिन अभ्यासका दौरान नेपालले मलेसियामा २ खेलको टी-२० अन्तर्राष्ट्रिय सरिज खेल्नेछ। पहिलो खेल असार २८ गते हुनेछ भने २९ गते दोस्रो खेल हुनेछ। नेपाली टिम मलेसियाबाटै साउन ४ गते सिंगापुर प्रस्थान गर्नेछ।

सिंगापुरमा नेपालले पहिलो खेल कतारसँग साउन ७ गते, मलेसियामा साउन ८ गते, कुवेतसँग साउन ११ गते र सिंगापुरसँग साउन १२ गते खेल्नेछ। यो प्रतियोगितामा च्याम्पियन भएमा नेपाल विश्व छनोटमा पुग्नेछ। विश्व छनोट आगामी अक्टोबरमा युएईमा हुँदैछ।

टी–२० विश्वकप छनोटमा जिम्बावेसहित १४ टिमबीच विश्वकप छनोटमा प्रतिस्पर्धा हुनेछ। १४ टिम मध्ये शीर्ष ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकपमा छानिनेछन्।

नेपाली टिममा पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी छन्।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्