Logo

सरकारको नियतमाथि गगन थापाले उठाए प्रश्न



काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारले संसदमा दर्ता गराएको विधेयकमध्ये सूचना प्रविधि विधेयक अहिलेसम्मकै सबैभन्दा खतरनाक विधेयक रहेको बताएका छन् ।

मंगलबार राजधानीमा नेपाल ट्रेड युनियन काँग्रेसको मुखपत्र श्रमिक पोष्ट विमोचन पछि बोल्दै थापाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक व्यवस्थाको विपरित हुनेगरी ल्याएको यो विधेयक अहिलेसम्मकै सबैभन्दा खतरनाक रहेको बताएका हुन् । उनले राज्यका ओहोदामा बसेकाहरुलाई चित्त नबुझेकोखण्डमा आफैंले गठन गरेको निकायमार्फत् जोकोहीलाई पनि थुन्नसम्म सक्ने व्यवस्था रहेको विधेयकमार्फत् सरकारको नियत समेत प्रष्ट भएको  बताए ।

सरकार तथा शक्तिमा रहेकाहरुको गतिविधिमाथि प्रश्न उठाउने नागरिक अधिकार समेत विधेयकले खोस्ने उल्लेख गर्दै थापाले विधेयकमार्फत् नागरिकको मुख थुन्ने प्रयास गरेको बताए । दुईतिहाई मत भएको सरकारसँग शासन गर्ने क्षमता नभएको र नियत पनि ठीक नभएको थापाले बताए ।

उनले भने,‘यी विधेयकहरु ल्याउने क्रममा यदि सरकारको नियत असल थियो भने विगतका आन्दोलनका उपलब्धीलाई समेत कुण्ठित हुने गरी विधेयक नै ल्याउनु हुँदैन थियो । संसदमा दर्ता गराएको विधेयकबाट सरकारको नियत प्रष्ट भएको छ ।’

कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सम्मानित हुनेमा हाम्राकुरा डटकमका अजयबाबु शिवाकोटी, गोरखापत्र दैनिककी पत्रकार राधा चालिसे, नेपाल डेली डटकमकी कृपा श्रेष्ठ र मिडिया सञ्चारका दूर्गा आचार्यलाई सम्मान गरिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्