Logo

अरबौं डलरको हतियार खरिद सम्झौतापछि कतारसँग अमेरिकाको सुध्रियो सम्बन्ध



कतारले अमेरिकासँग अरबौं डलरको हतियार र जहाज खरिद गर्ने भएको छ । त्यससम्बन्धी सम्झौता गर्न कतारका अमिर शेख तमिम विन हमद अल थानी वासिङ्टन पुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्यानो आतिथ्यता पाए ।

सानो खाडी राष्ट्र भइकन प्राकृतिक ग्याँस र तेलको भण्डार कतार व्यापारको केन्द्र बनेको छ । उसले सन् २०२२ मा विश्वकप फुटबल आयोजनाको अवसर पाएर सँसारलाई आश्चर्यमा पारेको थियो । उक्त परिस्थितिपछि कतारको युरोपका केही शक्तिशाली देशसँग मात्र नभई अमेरिकासँग पनि सम्बन्ध चिसिएको थियो ।

अमेरिकासँग हतियार र जहाज खरिदको अरबौं डलरको सम्झौतापछि सम्बन्धमा सुधार आएको छ । ट्रम्पले कतारका अमिरलाई असल मित्र भनेका छन् । अमेरिकाको हतियार कम्पनिहरुसँग कतारले अरबौं डलरको हतियार किन्ने निश्चित भएको छ ।

कतारले अमेरिकामा ठूलो लगानी गर्न लागेको र त्यसले रोजगारीको ठूलो अवसर सृजना हुने भन्दै ट्रम्पले खुशी व्यक्त गरे । हतियार र जहाज ठूलो परिणाममा खरिद गर्न लागेको बताए ।

कतार एरवेजले बोइङ ७७७ फ्राइटर्स र ठूलो क्याबिनको एयरक्राफ्ट खरिद गर्ने भएको छ । रिथन कम्पनिसँग मिसाइल खरिद गर्ने सम्झौता भएको छ । युएस गल्फ कोष्टमा पेट्रोकेमिकल प्लान्ट विकास गर्न अमेरिकाको चेभ्रोन फिलिप्स केमिकल्स र कतार पेट्रोलियमबीच आठ अर्ब डलरको सम्झौता भएको छ ।

कतारमाथि बहराइन, इजिप्ट, साउदी अरेबिया र युएईले नाकाबन्दी लगाइरहेका छन् । यी सबै देशहरु अमेरिकाको निकट मित्र मानिन्छन् । अमेरिकाका निकट मित्रहरुले नाकाबन्दी लगाइरहँदा कतारी शेख अमेरिका पुगेर अरबौं डलरको हतियार र व्यापार सम्झौता गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

कतारका अमिरको अमेरिका भ्रमण र ट्रम्पको न्यानो स्वागतले खाडी क्षेत्रमा नयाँ परिस्थिति सृजना हुने आँकलन गरिएको छ । इरानसँग अमेरिकाको तनाव बढिरहँदा ऊसँग निकट कतारका अमिर अमेरिका पुग्नु खाडीमा नयाँ राजनीतिक परिस्थिति निर्माणको संकेत हो ।



प्रतिक्रिया दिनुहोस्