Logo

मदन पुरस्कार : कसले मार्ला बाजी ? यस्ता छन् ७ प्रतिस्पर्धी



असार २६, काठमाण्डौ । नेपालकै सबैभन्दा बढि महत्वपूर्ण मानिने मदन पुरस्कारको छनौट सार्वजनिक भएको छ । २०७५ पुरस्कारका लागि ७ वटा कृतिको नाम सार्वजनिक भएको हो । तिमध्येबाट एकलाई पुरस्कार प्रदान गरिनेछ । कुन कुन कृति उत्कृष्ट सातमा परे त ?

मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरेको हो । छनोटमा परेका कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ छन् ।

त्यस्तै, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि उत्कृष्ट सातमा परेका छन् । छनोटमा परेका यिनै कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ बाट गुठीले पुरस्कृत गर्नेछ । मदन पुरस्कार प्रतिष्ठित पुरस्कार हो । मदन पुरस्कार गुठीले शान्तदास मानन्धरलाई उपन्यासकार नीलम कार्की ’निहारिका’लाई २०७४ सालको मदन पुरस्कार प्रदान गरेको थियो ।

नेपाली साहित्यमा प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने कार्की चौथी महिला बनेकी थिइन् । विसं २०२२ मा ’शिरीषको फूल’ उपन्यासका लागि पारिजात (विष्णुकुमारी वाइबा) लाई मदन पुरस्कार दिइएको थियो । त्यस्तै विसं २०६७ मा प्रकाशित आत्मजीवनीपरक निबन्ध ’जीवन काँडा कि फूल’ का लागि झमककुमारी घिमिरे र विसं २०७० मा प्रकाशित संस्मरणात्मक कृति ’खलङ्गामा हमलाका लागि राधा पौडेलले मदन पुरस्कार प्राप्त गरेका थिए ।

वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो । सोही साल मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान( विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ ।

गुठीले वि. सं. २०२५ सालसम्म ४–४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०र१० हजार नगद पुरस्कार बनायो । वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो ।

वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख पुग्यो । अहिले पुरस्कार राशि दुई लाख रूपैयाँ छ ।



प्रतिक्रिया दिनुहोस्