Logo

‘कसैले झुक्याउँछ भने त्यो प्रधानमन्त्रीको दोष होईन, सिधै रुखमा झुण्डयाउन मिल्दैन’



काठमाडौं, २६ असार । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्रीलाई भारतीय दुतावासको पत्रबारे आफ्नै मन्त्रीहरुले झुक्याईएको बताए । तर, उनले यसमा प्रधानमन्त्रीको कुनै दोष नरहेको जिकिर गरे । उनले थपे,‘प्रधानमन्त्रीलाई झुक्याउने काम भयो, यसमा प्रधानमन्त्रीको दोष छैन । अब झुक्याउनेलाई सिधै रुखमा झुण्ड्याउन मिल्दैन ।’

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि गम्भिर आरोप लगाएका छन् । ‘हिंसाबारे नेपाली कांग्रेस र विप्लव समूहको एउटै धारणा हो भने यो कांग्रेसको दिनभरि विपी बन्ने र रातभरि विप्लव बन्ने चरित्र भयो ।’–बाँस्कोटाले भने ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन् । उनले भने,‘कांग्रेसको चार तारामध्ये एक तारा शान्ति, एक तारा लोकतन्त्र हो भने अब त्यसबारेमा यथार्थ खोज्ने बेला आएको छ। ऋहिले सर्वसाधारण मारिएका छन् । प्रहरी मारिएका छन् । अनि हिंसाबारे कांग्रेस र विप्लवको धाराणा एउटै हुने ?’

उनले वर्तमान सरकार कसैको पनि घेराबन्दीमा नपरेको स्पष्ट पारे । ‘सरकार कसैको घेराबन्दीमा छैन । अब हत्या र आतंकको जमाना छैन ।’–उनले अघि थपे,‘हिंसा सत्ता पक्ष र प्रतिपक्षको भन्ने कुरा हुँदैन । हिंसालाई प्रोत्साहन गरेर सरकारलाई अप्ठ्यारो पार्दै टुटाउन, फुटाउन, गिराउनको लागि कांग्रेसले जति आराधना गरेपनि नेकपा फुट्दैन । हाम्रो एकता कमजोर जगबाट बनेको छैन । सत्ता परिवर्तन हुन्छ अनि खेल्छु र भागबण्डा गरेर खान्छु भन्नु दिवा सपनामात्रै हुनेछ । कांग्रेसको भ्यागुतको धार्नी कहिल्यै पुग्दैन ।’

त्यस्तै, उनले भारतबाट आयात हुने तरकारीमा विषादी र यसलाई चेकजाँच तत्काल नगर्ने विषयबारे बोल्दै भने,‘विषादी चेकजाँच नेपाल र भारतको प्रश्न होईन । दुवै देशबाट आधिकारिक रुपमा चेकजाँच गरेर मात्रै तरकारी भित्रिन्छन । कसैको अनुचित दबाब वर्तमान सरकराले स्विकार्दैन । नेपाल–भारत सम्बन्ध नाकाबन्दी वा अखाद्य पदार्थसँग जोडिएको छैन । हामीबीच सांस्कृतिक, व्यापारिक, जनता–जनताबीचको सम्बन्ध छ, राजनीतिक र सुरक्षा सम्बन्धसँग गाँसिएको छ। एउटा आईफा अवार्ड नगर्दैमा हाम्रो सुमधुर सम्बन्ध टुट्दैन, बिग्रिँदैन् ।’

उनले आईफा अवार्ड गर्दा नेपाललाई नाफा भयो भने मात्रै अब सञ्चालन गरिने नत्र नगरिने जिकिर गरे ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 

 

 



प्रतिक्रिया दिनुहोस्