Logo

बाढि, पहिरो पीडितलाई कांग्रेस सांसदहरुले एक महिनाको तलब सहयोग गर्नुहुन्छ : प्रदीप पौडेल



‘सरकारले राहतको कार्यक्रम ल्याउन ढिलाई गर्यो’

काठमाडौं, २८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढि, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने स्पष्ट पारेका छन् ।  उनले भने,‘हाम्रो पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ । हामी हात फुकाएर सहयोग गर्छौं । राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै पौडेलले अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण बाहिर आएजतिमात्रै नभएर त्यो भन्दा अझै धेरै संख्या रहेको सुनाए । उनले भने,‘अहिले जनधनको क्षतिको पूर्ण विवरण आएको छैन् ।’

सरकारले बाढि तथा पहिरो प्रभावितलाई तत्काल राहतको कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्नेमा त्यसमा ढिलाई भैरहेको उनको गुनासो छ । उनले भने,‘पीडितको राहतको लागि सरकारले ठोस ढंगबाट राहतका कार्यक्रम ल्याउनुपर्छ । ढिला भैसक्यो । २० दिनपछि राहत दिएर हुँदैन् ।’
पीडितहरुको उद्धार तथा राहतमा सबैले स्वयमसेवी ढंगबाट परिचालित हुन आवश्यक रहेको पनि पौडेलको भनाई छ । उनले भने,‘हामीले नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरिसकेका छौं । हामीले आफ्नो संगठनात्मक क्षमता अनुसार परिचालन गरिरहेका छौं । कसरी जाने भन्ने विषयमा पार्टीभित्र अहिले पनि छलफल जारी छ ।’

उनले असार, साउनमा त सधैं बाढि, पहिरोको जोखिम र खतरा रहेको जान्दाजान्दैपनि सरकार यसप्रति गम्भिर नभएको आरोप लगाए । उनले थपे,‘असार र साउनमा बाढि र पहिरो आउँछ भन्ने कुरा त सरकारलाई थाहा छ नि, तर पनि यसको व्यवस्थापनमा हामी किन लाग्दैनौं । दिर्घकालिन रुपमा यसको समाधान खोज्नुपर्छ । यसको लागि जोखिमपूर्ण वस्ती राम्रो ठाउँमा सार्नुपर्छ । जनताको पक्षमा जोसुकै सँगपनि कुरा गर्न आँट हुनुपर्छ ।’ उनले नेपालबाट गर्नुपर्ने कामहरु तत्काल गर्नुपर्नेमा सरकारले त्यो पनि नगरेको गुनासो पोखे ।

यसअघिका सरकारले त बाढि, पहिरो व्यवस्थापनमा ठोस कदम चाल्न नसकेपनि अहिलेको दुई तिहाई बहुमतको सरकारले पनि दिर्घकालिन योजना बनाएर व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ । उनले भने,‘पूर्वाधारमा के के गर्नुपर्छ, तटबन्ध निर्माण गर्नुपर्ने हो कि, वा अन्य आवश्यक के के गर्नुपर्ने हो, त्यो सबै गर्नुपर्छ । यसमा ढिलाई गर्नुहुँदैन् ।’

फरक प्रसँगमा उनले वर्तमान सरकारले अत्यधिक धेरै गलत काम गरेको आरोप लगाए । उनले भने,‘यो सरकार अहिले नांगिएर प्रस्तुत भएको छ । प्रधानमन्त्रीलाई महत्वपूर्ण कुरै थाहा हुँदैन, अनि सार्वजनिक रुपमा माफी माग्नुहुन्छ । खुलेआम भ्रष्टाचार भएको छ । कतिसम्म भने भ्रष्टाचारीलाई यही सरकारले संरक्षण गरेको छ ।’

सरकारका गलत कामकारबाहीबारे कांग्रेसले राजपा नेपालसँग सहकार्य गर्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘हामीले सरकारका गलत कामहरुको खवरदारी गरिरहेका छौं ।’ आफूहरुले उठाएका मुद्दा सम्बोधन नभएसम्म संसद अवरुद्ध भैरहने उनको चेतावनी थियो ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अविरल वर्षाले ठूलो जनधनको क्षति भएको र अझैपनि उद्धार तथा राहतमा जुट्नुपर्ने बेला भएकोले सबै नेपालीहरुले यो कार्यमा सहकार्य गर्नुपर्ने आग्रह गरे । उनले राजनीतिक दलहरुले पनि आफ्ना नेता तथा कार्यकर्ता विलम्ब नगरी परिचालन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्