Logo

वर्षाले हुन सक्ने जनधनको क्षति न्युनिकरणमा सरकार असफल



असार २९, काठमाण्डौ । विहिबारदेखि परेको वर्षातले देशका विभिन्न स्थान डुबानमा पर्यो । वर्षात आइतबारसम्म निरन्तर भइरहने बताइएको छ । नदी तटीय तथा पहिरो आउन सक्ने क्षेत्रका जनता निकै सतर्क हुनुपर्ने देखिन्छ । तर सरकारले सम्बन्धित ठाउँमा प्रभावकारी सूचना प्रवाह गर्न सकेको छैन ।

हरेक वर्ष बाढी पहिरोले जनधनको क्षति हुने गरेको छ । तराई–मधेश क्षेत्रका नदी तटीय क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरोको प्रकोपले यसपटक पनि जनजीवन अस्तव्यस्त भइरहेको छ । ति क्षेत्रका बासिन्दा घरबार विहिन भएका छन् ।

तर सरकार न त राहत र उद्धार प्रभावकारी बनाउन सकेको छ, न त समयमा नै प्रकोपको सूचना प्रवाह गर्न सकेको छ । यसले गर्दा क्षति न्युनिकरण हुन सकेको छैन । सरकारले सूचना प्रवाहको सामान्य व्यवस्था गरे पनि जनधनको क्षति गर्न सकेको छैन ।

बाढी पूर्वानुमान महाशाखाले नै समयमा नै प्रभावकारी सूचना प्रवाह गर्न नसकिएको स्वीकार गरेको छ । समयमा नै नीतिगत सुधार गर्न नसक्दा वर्षायाममा हुने प्रकोपबारे जानकारी दिन नसकिएको वाढी पूर्वानुमान महाशाखाका जलविद् सुनिल पोखरेल बताउँछन् ।

अविरल वर्षाले साना र ठूला नदीहरुमा जलसतह कारण बाग्मती नदी सप्तकोसी र कमला नदीको बाढीले अझै खतरा हुने भएको छ । तमोर नदीको वहाव खताराको सतह भन्दा माथि रहेकोल सर्तकता रहेर बस्नु पर्ने रहेको छ ।

कमला नदी बाढी मापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको बाढी पुर्वअनुमान महाशाखाले जनाएको छ । नेपाल बाढी पहिरोजन्य विपद् जोखिमको दृष्टिमा ३० औं, जलवायु परिर्वतनजन्य विपद् जोखिममा चौथो, भूकम्पीय जोखिमका दृष्टिले ११ औं र बहुप्रकोपिय विपद् जोखिमका दृष्टिले २० औं स्थानमा पर्छ ।

तर यस्ता जोखिमबाट हुने क्षति न्युनिकरणमा सरकार उदासिन बन्दै आएको छ । बाढी पहिरोले जनधनको क्षति भइसकेपछि बल्ल महाशाखाले सूचना प्रवाहलाई प्राथमिकता दिएको छ ।

लगातारको वर्षाले बागमती नदीको जलस्तरले सतर्कताको तह पार गरेको भन्दै मौसमविद्हरुले तटीय क्षेत्रका स्थानीयलाइ सचेत गराएका छन् । गएराति नै सो नदीमा पानीको वहाव बढेपछि बिहान ३ बजे मोबाइल मार्फत स्थानीयमा सतर्कताको सूचना प्रबाह गरेको बाढी पूर्वानुमान महाशाखाका जलविद् सुनिल पोखरेलले जानकारी दिए ।

यसैगरी खाँडो, रातु, लालबकैया नदीमा पनि पानीको सतह बढेको छ । कोशी, कन्काइ लगायतका ठूला नदीमा पनि पानीको सतह बढ्दै गएको छ । प्रदेश २ र ३ मा आज पनि भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलाहरुमा जलस्तर बढ्ने भएकाले सचेत रहन भनिएको छ ।

हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित भएकाले आगामि २–३ दिन मनसुन अति सक्रिय भैरहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी केहि स्थानहरुमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्