Logo

क्षति कम गर्न पू्र्व तयारीमा असफल भयौँ : मुख्यमन्त्री राउत



असार ३०, काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा मृत्यु हुनेहरुको संख्या ६५ पुगेको छ । सोमबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । मृत्यु हुनेहरुमा ४१ पुरुष र २४ महिला छन् ।

प्रदेश नम्बर २ का मूख्यमन्त्री लालबाबु राउतले क्षति न्युनिकरणका लागि पूर्वतयारी हुन नसक्दा जनधनको क्षति बढेको स्वीकार गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राउतले हरेक वर्ष बाढी आउँछ भन्ने जान्दा जान्दै पनि बेलैमा सचेत हुन नसकेको बताएका हुन् ।

डुबान र कटानको सम्भावित खतरा भएका क्षेत्र सुरक्षित बनाउनका लागि पूर्व तयारी गर्न नसकेको उनको स्वीकारोक्ति छ ।

मुख्यमन्त्री राउतले क्षति कम गर्नका लागि गरिने कामका लागि बजेट अभाव हुँदा समस्या हुने गरेको बताए । लालबकैया र बागमति जस्ता बढि क्षति पुर्याउने नदीहरुमा तटबन्द निर्माण गर्नुपर्ने राउतको भनाई छ ।

सबै नदीको तटबन्द भारतले नै बनाइदिन्छ भन्ने अपेक्षा गर्नु गलत भएको राउतको तर्क छ । भारतलाई गाली पनि गर्ने केही गरिदिन्छ कि भन्ने आशा पनि गर्ने भन्दा आफैँ काम गर्न राउतले संघीय सरकारलाई सुझाब दिए ।

१२ पुरुष र १८ महिला गरी जम्मा ३० जना वेपत्ता छन् । ३८ जना घाइते छन् भने १ हजार ४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । सयौं वस्ती डुबानमा परेका छन् । पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । सडकहरु भत्किएर यातायात आवागमन पनि प्रभावित भएको छ । १४ जिल्लाका सडकहरुमा क्षति पुगेको प्रहरीको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्