Logo

६५ वर्ष कटेकालाई भत्ता दिन कांग्रेसको माग



काठमाडौं १ साउन । प्रमुख प्रतिपक्षी कांग्रेसले ६५ वर्ष उमेर पूरा भएका नागरिकलाई वृद्धभत्ता दिन माग गरेको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा आइतबार कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन माग गरेको हो ।

‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथि छलफलका क्रममा कांग्रेसकी सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताइन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभाको चुनाव भइसकेपछि ६५ वर्ष पूरा भएका नागरिकलाई समेत वृद्धभत्ता दिने निर्णय गरेको थियो । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज गर्दा ६५ वर्ष पूरा भएका नागरिकलाई वृद्धभत्ता दिने निर्णयसमेत उल्टिएको थियो ।

कांग्रेसले समितिमा आफ्नो त्यही पुरानो अडान दोहोर्‍याएको हो । भुसालले भौगोलिक कठिनता र औसत आयु कम भएका क्षेत्रलाई हेरेर ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई भत्ता दिनुपर्ने धारणा राखेकी थिइन् । उनले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकाप्रति समेत आपत्ति जनाइन् । ज्येष्ठ नागरिकहरूलाई वर्गीकरण गर्न नहुने तर्क उनको थियो ।

सत्तारूढ नेकपाकी सांसद बिनुकुमारी श्रेष्ठले समेत ज्येष्ठ नागरिकहरूलाई वर्गीकरण गर्ने विधेयकको प्रावधान गलत रहेको बताइन् । सरकारले पेस गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्