Logo

अब “समुदाय-प्रहरी साझेदारी ” सम्बन्धी पाठ्यक्रम देखि रिसर्चसम्म



काठमाडौं, १ साउन । नेपाल प्रहरीले अगाडि सारिरहेको “समुदाय प्रहरी साझेदारी” सम्बन्धी पाठ्यक्रम देखि रिसर्चसम्म हुने भएको छ । यससम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

१ साउनमा प्रहरी प्रधान कार्यालय नक्शालमा  त्रिभुवन विश्वविदालयका उपकुलपति प्राध्यापक डा. तिर्थराज खनियाँ र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन अनुसन्धान, सूचनाको आदान प्रदान, श्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्था, सुरक्षा सचेतना अद्धिवृद्धि, प्रकाशन, क्षमता अद्धिवृद्धि, सूचना प्रविधिको विकास, व्यवहारिक अभ्यास, इन्टर्नसिप, विद्युतीय पुस्तकालय, सुरक्षित विश्वविद्यालयको अवधारणा, भ्रमणको आदानप्रदान र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु लगायतका विषय समेटिएका छन् ।


उद्देश्यमा सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउँदै अपराध रोकथाम गर्न, सुरक्षा व्यवस्थापनमा जनसहयोग र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञता र महत्त्वपूर्ण भूमिकालाई मनन गर्दै तथा प्राज्ञिक गतिविधिहरूको निर्बाध सञ्चालनमा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न, सुरक्षा सचेतना अभिवृद्धि गर्न र नेपाल प्रहरीमा निहित सुरक्षा सम्बन्धी विज्ञताको प्राज्ञिक क्षेत्रमा उपयोग गर्ने सम्बन्धमा नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच “समुदाय-प्रहरी साझेदारी” अवधारणा अनुरूप संस्थागत साझेदारीको निर्माण एवं कार्यान्वयन गरिने उल्लेख छ ।


समझदारीपत्रमा हस्ताक्षरपछि उपकुलपति खनियाँले सम्झौतापत्रका विषयवस्तु ज्यादै महत्वपूर्ण रहेको चर्चा गर्दै नेपाल प्रहरीले गर्ने सेवामा विश्‍वविद्यालयकोतर्फबाट गर्नुपर्ने योगदान दिन विश्‍वविद्यालय तयार रहेको बताए । आपसी सहकार्यबाट समाजलाई दिने सेवालाई उत्पादनमूलक र मूल्यवान बनाउन सकिने भएकाले समझदारीको प्रभावकारी एवं शीघ्र कार्यान्वयनको लागि समझदारीका विषयवस्तुलाई प्राथमिकता तोकेर लक्षित टीम बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

विश्‍वविद्यालयले लामो समयदेखि अन्तर्राष्ट्रिय रुपमा सहकार्यको संस्कृति अगाडि बढाएको भए पनि राष्ट्रिय रुपमा नेपाल प्रहरीसँग नै पहिलो समझदारी भएको उल्लेख गर्दै खनियाँले अबका दिनमा कामबाटै एकअर्कालाई योगदान गर्ने नयाँ अवस्थाको थालनीसँगै थुप्रै कुरामा मिलेर जान सकिने बताए ।


त्रिभुवन विश्‍वविद्यालयका विद्यार्थीहरुले नेपाल प्रहरी मार्फत योगदान पुर्‍याइरहेको चर्चा गर्दै त्रिभुवन विश्‍वविद्यालयको अध्यापन गुणस्तरीय हुँदा सो बाट नेपाल प्रहरीका अधिकृतहरुको सेवा प्रवाह समेत गुणस्तरीय हुन सहयोग पुग्ने चर्चा गरे । यस साझेदारीको माध्यमबाट हुने विचार, अनुभव र विज्ञताको आदान-प्रदानबाट व्यावसायिक कार्यसम्पादन अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर महत्वपूर्ण भएकाले उपलब्धीपूर्ण हुने विश्‍वास व्यक्त गरे । मर्यादित मानिने सुरक्षा निकाय र अध्ययन अध्यापन क्षेत्रसँगको सहकार्यलाई नियमित रुपमा अगाडि बढाउँदै थप उपलब्धीमुलक बनाउन तत्कालै समझदारी कार्यान्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यस समझदारीबाट साझेदारीमा नविन आयाम थपिएकोले आफूलाई गर्व महसुस भएको उल्लेख गर्दै प्रहरीको बहुआयामिक कार्यक्षेत्रमा बृहत दृष्टिकोण निर्माणको लागि प्राज्ञिक क्षेत्रको विज्ञता उपयोग गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।


विश्‍वविद्यालयसँगको सहकार्यले सामाजिक सांस्कृतिक पक्षहरुसँग जोडिएका अपराधका विविध पक्षहरुको सम्बन्धमा गहिरो सोध एवं अनुसन्धान गरी निदानका उपायहरुको खोजि गर्न सहयोग पुग्ने विश्‍वास व्यक्त गरे । अहिलेका दिनमा अध्ययन परिष्कृत हुँदै अनुसन्धानमुखी भएकाले संगठन मजबुत, सबल र समयसापेक्ष बनाउन सहयोग मिलेको बताए । उच्च अध्ययनको साथै यूएन समेत अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका र समाजको गहिराई बुझेर काम गर्ने प्रहरी अधिकृतहरुको कामले नेपाल प्रहरीको छवि उच्च बनाएको चर्चा गरे।

मानव अधिकारको संरक्षण गर्दै सुरक्षित समाज र समृद्ध राष्ट्र बनाउन नेपाल प्रहरी समुदायसँग मिलेर काम गर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, “संगठनको बुझाई, दृष्टिकोण र कार्यशैली नागरिक केन्द्रीत छ ।” सूचना प्रविधिको कारण अपराधको सिमाना नहुने अवस्थामा बाहिर के भइरहेको छ भन्ने बुझेर नीति योजना बनाउन सके समयले माग गरेको काम गर्न सकिने भएकोले यसतर्फ प्रहरी उन्मुख भइरहेको बताए ।

प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले समझदारीपत्रको मस्यौदा प्रस्तुतीकरण गरे । त्रिभुवन विश्‍वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेती, प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई, उक्त विश्‍वविद्यालयका विभिन्न विभागका प्रमुखहरु, प्रहरी प्रधान कार्यालयस्थित विभिन्न निर्देशनालयका प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।Photo: Nepal Police



प्रतिक्रिया दिनुहोस्