Logo

विप्लव मामलामा सरकार संवदनशील देखिएन– काँग्रेस नेता लेखक



काठमाडौं, १ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता तथा सम्वादको पक्षधर भएकोले विप्लवसँग पनि वार्ता तथा सम्वादमार्फत नै सहमति खोज्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले कांग्रेसकै पहलकदमीका कारण माओवादीसँगको वार्ता सफल भएको र मुलुक अहिलेको अवस्थामा रुपान्तरण भएको सुनाए । उनले भने,‘हाम्रो पार्टी हरहमेशा वार्ता तथा सम्वादको पक्षमा छ । हामी कहिल्यैपनि हत्या, हिंसाको पक्षधर होईनौं । त्यसैले विप्लवसँगपनि सरकारले वार्ता तथा सम्वाद गरोस् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता टोलीका पूर्व संयोजक तथा नेकपाका नेता सोमप्रसाद पाण्डेको कुरा सुन्दा सरकारले अहिलेसम्म वार्ताको लागि विप्लवलाई पत्राचार नै नगरेको सुनाए । उनले भने,‘सरकारले अहिलेसम्म पत्राचार गरेको छैन भन्ने कुरा पाण्डेजीले भन्नुभयो, अहिलेसम्म मागका बारेमा पनि ठोस कुरा आएको छैन भन्नुभयो । सरकार संवेदनशील बन्नुपर्छ ।’

उनले वर्तमान सरकारसँग जनता सर्वथा निराश रहेको पनि गुनासो पोखे । उनले भने,‘यो सरकार कता जाँदैछ ? सरकारमा रहेका दलका नेताहरुनै अहिले सर्वथा असन्तुष्ट हुनुहुन्छ ।’ उनले सरकारले देश र जनतामा निराशाको विउ छर्ने काम गरेको आरोप लगाए ।

संसदमा प्रस्तुत गरिएका विद्येयकहरु एकपछि अर्कोगरि विवादमा मुछिएको पनि उनले सुनाए । उनले भने,‘त्यतिमात्रै होईन, सरकारका निर्णयहरु पनि विवादित बनेका छन् ।’ गुठी, मिडिया काउन्सिल, वन विद्येयकलगायतका सबै विद्येयकहरु विवादस्पद बनेकोमा उनले गुनासो पोखे ।

लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नामै नलिई जनतालाई गलत सुचना दिएको सुनाए । उनले भने,‘सरकारमा बसेका सबैभन्दा ठूला मान्छेले जनतालाई ढाँट्ने काम गर्नुभयो ।’ सरकारले आफूलाई सुधार नगरे अहिलेको व्यवस्थामाथि नै प्रश्नचिन्ह उठ्नसक्ने पनि उनले खतरा औंल्याए । उनले भने,‘सरकार समयमै सुध्रियोस्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot