Logo

श्रेष्ठको नजरमा राष्ट्रपति ‘सामन्तवादकी महारानी’



काठमाडौं, १ साउन । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रपति विद्दादेवी भण्डारीलाई सामन्तवादको महारानी भनेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै राष्ट्रपति आलंकारिक भएपनि उनको शैली भने राजर्षी रहेको टिप्पणी गरे ।

राष्ट्रपतिबारे कडा टिप्पणी गर्दै उनले भने,‘अहिले उहाँको शैली सामन्तवादको जस्तो छ ।’ राष्ट्रपतिको आतेजाते राजा, महाराजा र महारानीजस्तो रहेको भन्दै गणतन्त्रको राष्ट्रपति सामन्तीयुगको जस्तो महारानी हुन नहुने बताए । उनले भने,‘पार्टीका नेता त्यसमा पनि उपल्लो तहमा बस्नेहरुको रहनसहन सामन्तवादकोजस्तो छ ।

सत्तामा रहेकाको जीवनशैलकिा कारण जनविद्रोह जन्मन सक्ने बताए । अहिले सरकारमा भएकाहरुको शैलीपनि नवधनाढ्यजस्तो भएको बताए । उनले भने,‘कम्युनिष्टको नाममा यो गलत शैली हो ।’
उनले नेताले नांगै हिँड्नुपर्छ र साईकल चढ्नुपर्छ भन्ने नभएको पनि सुनाए । श्रेष्ठले थपे,‘राष्ट्रतिको निवासमा हेलिप्याड राख्ने कुरा भएको छ । यस्ता कुरामा ध्यान दिनुपर्छ । यही अवस्था रहिरहे प्राप्त उपलब्धि नै गुम्ने खतरा हुन्छ ।’

आफ्नो पार्टीका अध्यक्ष अहिले उपेन्द्र यादव अहिले सरकारमा उपप्रधानमन्त्री रहेको र उनले पिछुवा गाडीको सुविधा नलिएको पनि उनले सुनाए । उनले भने,‘हामी त समाजवादी संस्कृतिको सुरुवात गरौं भनेर लागिपरेका छौं । मुख्य कुरा भनेको नै कल्चर बसाल्ने हो ।’

श्रेष्ठले विप्लवका माग राजनीतिक समस्या भएकोले राजनीतिक ढंगले समाधान गर्नुपर्नेमा जोड दिए । छिटोभन्दा छिटो समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए ।
उनले भने,‘यो राजनीतिक समस्या भएकोले यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ । अहिले नेकपा र डबल नेकपाबीच एक आपसमा सौताकोजस्तो व्यवहार देखिएको छ । यो व्यवहार त्यागेर छिटोभन्दा छिटो समाधान खोज्नुपर्छ ।’

सांसदसमेत रहेका सह–अध्यक्ष श्रेष्ठले अहिले परिवर्तित अवस्था भएकोले यो परिवर्तनलाई आत्मसात गरिएको छ कि छैन ? भन्ने कुरा मूल प्रश्न भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्