Logo

कर्मचारी तह लगाउन लौरोसहित कार्यालयहरु पस्ने सरकारका प्रवक्ताको चेतावनी (भिडियोसहित)



“वैशाखमा ब्युझने, जेठको मध्यतिर आङ तान्ने, असार लागेपछि खुइइ दौडदै काम देखाउने, अन्ततिर हस्याङ फस्याङ गर्ने !”

काठमाडौं, १ साउन । नेपाल सरकारका कर्मचारीहरुको स्वभावबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यस्तो भने । त्यो पनि बुधबार मन्त्रालयमा चालु आर्थिक वर्षको कार्यक्रम र विभागीय प्रमुखहरुसँग कार्यसम्पादन करार सम्झौता हस्ताक्षर कार्यक्रममा ।

कर्मचारलिे कागजको झन्झट बनाउने काम गर्ने गरेको उनको भनाई थियो । कर्मचारीहरुको काम चोर र काम ठग प्रवृत्तिबारे व्याख्या गर्दै अब निर्देशन मात्र दिएर नबस्ने बताए । लौरोसहित ढोका उघार्दै कार्यालहरु पस्ने बताए । कठोर बोलीका साथ बास्कोटाले बुधबार मन्त्रालयमा बोल्दै लौरो र कुचो लिएर कर्मचारीमाथि कारबाही गर्न हिंड्ने चेतावनी दिए । काम नगर्ने र बिगार्ने कर्मचारीमाथि ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री बाँस्कोटाले भने,‘रातो कलम बोकेर हिंड्छु र ठाउँको ठाउँ कारबाही गर्छु ।’ अल्छी कर्मचारीलाई पटुकी कसेर बाटो लाग्न भने ।
देशमा काम ठग प्रवृत्ति चुनौती रहेको भन्दै अब नतिजामुखी बनेर काम गर्न लगाउने बताए । जसले काम गर्दैन त्यसमाथि कारबाही गर्ने उनको चेतावनी थियो ।

कर्मचारीलाई कस्को शक्ति कति छ भनेर नआउन भने । उत्तरदायित्व र जिम्मेवारी मात्र आफूलाई थाहा भएको भन्दै शक्ति देखाउन आउनेलाई पनि ठाउँको ठाउँ कारबाही गर्ने बताए ।

जनता जोडिने र विकासको विषय भएको क्षेत्रमा आलटाल गरेमा कडा कारबाही भोग्नुपर्ने चेतावनी दिए । भाषणभर कर्मचारीलाई चेतावनी दिएका उनले अन्तमा साउनको संक्रान्तिको शुभकामना दिए ।

‘सरकार पनि स्थायी र कर्मचारी पनि स्थायी भएको बेलामा विकास नभए कहिले हुन्छ,’ बास्कोटाले भने । अबको वर्ष नतिजा खोज्ने वर्ष हुने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्