Logo

निगमका अध्यक्ष खरेल राजीनामा दिने तयारीमा



काठमाडौं, २ साउन । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल राजीनामा दिने तयारीमा पुगेका छन् । निगमनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार खरेलले आफूले अब धेरै तनाव झेल्न नसक्ने र छिट्टै राजीनामा दिने मनशाय बनाएका छन् ।

पछिल्लो समय अध्यक्ष खरेलको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीपनि रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीले हटाउनुपुर्व नै खरेलले राजीनामा दिन लागेको हुनसक्ने निगमका कर्मचारीको दाबी पनि छ ।

यता, नेपाल एयरलाइन्सको व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ । निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो ।

निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’, ‘इञ्जिनीयरिङ’ र बजार व्यवस्थापनलाई करारमा जानका लागि निगम सञ्चालक समितिले निर्णय गरिसकेको छ । व्यवस्थापन सञ्चालन करारमा दिने निगम व्यवस्थापनबाट निर्णय भई विश्वव्यापी बोलपत्र ‘ग्लोबल टेण्डर’ को प्रक्रिया शुरु भइसकेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी गराएका छन्।

“व्यवस्थापन करारका लागि हामी ग्लोबल टेण्डरमा जान लागेका छौँ, विश्वभरका जुनसुकै कम्पनी पनि आउनसक्छन्, चाहे नेपाली कम्पनी नै किन नहुन् अहिले टेण्डरको कागजात धमाधम बनिरहेको छ”, उनले भने ।



प्रतिक्रिया दिनुहोस्