Logo

शान्तिपूर्ण राजनीतिमा आउन र संविधान मान्न तयार भए मात्र विप्लवसँग वार्ता : मन्त्री बाँस्कोटा



काठमाडौं, २ साउन । सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउन र संविधान मान्न तयार भए मात्र विप्लवसँग वार्ता गरिने स्पष्ट पारेका छन् । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शक्ति सञ्चय र आफ्ना कार्यकर्ता छुटाउनका लागि दाउपेचपूर्ण ढंगले गरिने वार्ता सरकारलाई स्वीकार्य नहुने पनि बताए । उनले भने,‘दाउपेच, शक्ति सञ्चय वा प्रचारका लागि वार्ता हुँदैन। पक्राउ परेका मान्छे छाडेर वा मुद्दा फिर्ता लिएर वार्ता गर्ने पक्षमा सरकार छैन ।’

उनले सिके राउत जस्तै प्रतिस्पर्धात्मक राजनीतिमा आउने र संविधान मान्ने भए वार्ताका लागि सरकार तयार भएको उल्लेख गरे ।मन्त्री बास्कोटाले भने,‘संंविधान मान्ने र हिंसा छाड्ने हो भने वार्ता गर्न सकिन्छ । अनौपचारिक रुपमा वार्ता भइरहेको छ । वार्ताबाट सरकार टाढा छैन । ०५२ सालदेखि ०६२ सम्म के–के भयोरु के त्यसैको पुनरावृत्ति गर्नेरु कार्यकर्ता छाड्ने र मुद्दा फिर्ता लिने अनि वार्ताबाट भाग्ने प्रवृत्तिसँग सरकार सचेत छ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्