Logo

बालिका र किशोरी असुरक्षितः घटना बढेको कि उजूरी ?



रिपोर्टर्स नेपाल विशेषः बोली समेत नफुटेकी बालिका बलात्कारको शिकार बनेकी छिन् । कोही आफ्नै बाबु र हजुरबाबाट बलात्कृत भएका छन् । यस्ता घटनाको धमाधम उजूरी हुन थालेको छ ।

उजूरी परेका र खुलेका घटनाले कम उमेरका केटीहरु सबैभन्दा बढी खतरामा परिरहेको देखिन्छ । अपाङ्ग र अशक्त बालिका तथा महिला बलात्कारीको तारोमा पर्ने गरेका छन् ।

३१ असारमा अर्घाखाँचीमा ६० वर्षीय व्यक्तिले दुई वर्षीया बालिकामाथि बलात्कार गरे । बर्दियामा ६८ वर्षीय वृद्धले पाँच वर्षीया बालिकामाथि बलात्कार गरे । सुन्दै आश्चर्य लाग्ने यस्ता घटना एकपछि अर्को बाहिर आउन थालेका छन् । १ साउनमा तनहुँमा पाँच वर्षीया बालिकालाई मकैबारीमा लगी १९ वर्षीय किशोरले बलात्कार गरे । घटनाका अभियुक्त पक्राउ परेका छन् ।

पिपरामा गत महिला दश वर्षीया बालिका बलात्कृत भइन् । बर्दियामा ३५ वर्षीय पुरुषले १३ वर्षीया बालिकामाथि बलात्कार गरे ।
ललाइफकाई कोठामा लगेर बलात्कार गरेको घटना पनि उत्तिकै छन् । चावहिलमा १५ वर्षीया बालिका अर्काको कोठामा पुर्याएर बलात्कृत भइन् ।

आफ्नैबाट असुरक्षित

महिला तथा बालबालिका आफ्नैबाट असुरक्षित भएको घटना खुलेका छन् । केही वर्ष अघि काभ्रेमा एक किशोरीमाथि बाबु र हजुरबाबु दुवैले बलात्कार गर्ने गरेको घटना खुलेको थियो । अपत्यारिलो लाग्ने यस्ता घटना धमाधम खुल्न थालेका छन् ।

तेर्हथुममा गत महिनामा हजुरबाबुले नातिनीमाथि बलात्कार गरे । ललितपुरमा नेपाल सरकारका उपसचिवले आफ्नै छोरीमाथि वर्षौदखि बलात्कार गरेको घटना बाहिर आयो । पीडित किशोरीले वाध्य भएर उजूरी दिएपछि घटना बाहिर आएको थियो ।

उजूरी बढ्यो

पछिल्लो समय बालिकामाथि यौन दुव्र्यवहारको घटना बढिरहेको छ । प्रहरीले घटनाका अभियुक्तहरुलाई पक्राउ गर्ने क्रम पनि बढेको छ । विगतमा बलात्कारको घटनामा मौन हुने गरिएपनि पछिल्लो समय उजूरी बढ्न थालेको छ ।

प्रहरी समुदाय साझेदार कार्यक्रमले पनि महिलाहरुलाई उजूरी गर्न जागरुक बनाएको छ । आफूमाथि परेको अन्याय र यौन दुव्र्यवहारका घटना महिलाले उजूरी गर्न थालेका छन् । यसकारण पनि उजूरी बढ्न थालेको छ । बलात्कारका घटना विगतमा पनि थिए तर कमैमात्र उजूरी पर्थे । पछिल्लो समय पीडित र परिवार घटना लुकाएर बस्नेभन्दा पीडकलाई कारबाहीको दायरामा ल्याउन लागिपरेका छन् ।

जताततै महिला असुरक्षित

यात्रुवाहक बस पनि महिलाका लागि सुरक्षित छैनन् । बसमा लिफ्ट मागेर बसेकाहरु बलात्कृत भएका छन् । नवलपरासीको बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ट्रकमा चढेकी ३० वर्षीया महिला चालक र सहचालकबाट बलात्कृत भइन् ।

घाँस काट्न जंगल जाँदा र आँपको बगैंचामा जाँदा समेत महिला बलात्कृत भएका छन् । १३ वर्षीया बालिका जंगलमा घाँस काट्न जाँदा बलात्कृत भइन् । बोल्न नसकन महिला खड्ग नगरपालिकाको आँपको बगैंचामा घाँस काट्न जाँदा बलात्कृत भइन् ।

घटना मिलाउने चलखेल

बलात्कारको घटना गुपचुप मिलाउन खोज्ने गतिविधि चल्दै आएको छ । सकेसम्म प्रहरीमा उजूरी पुग्न नदिने र पुगेपनि मिलाउन खोज्ने गतिविधि हुने गरेको छ । यस्तै घटना भयो बाँकेमा । कोहलपुरमा दुई बालिकामाथि बलात्कारको घटना भयो । १३ र १५ वर्षकामाथि जर्बजस्ती करणी भएपछि आरोपितले चार लाख रुपैयाँ दिने गरी घटना गुपचुप राख्न दबाब दिइयो ।

परिवारलाई पैसा दिइसकेको अवस्थामा सूचना चुहियो । रकम लेनदेनको कागज समेत गरेको पत्ता लागेपछि प्रहरी नै छानविनको घेरामा परेका छन् । मिलेमतो भएपछि बालिकाहरुले सामान्य हातपात हुँदा चिच्याएको बयान दिन थालेका छन् ।

बलात्कार घटनाको तथ्यांक

आर्थिक वर्ष २०७२/७३ मा प्रति दिन ३ जना जबरजस्ती करण्ी र १ जना जबरजस्ती करणी उद्योगको उजुरी आएको तथ्यांक छ । आर्थीक वर्ष २०७३–७४ को तथ्याङ्क पनि अघिल्लो वर्षकै जति थियो । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा प्रति दिन ४ जना जबरजस्ती करणी र दुई जना जबरजस्ती करणी उद्योगका शिकार भएका थिए । चालु आर्थीक वर्ष २०७५/७६ को चार महिनामा मात्र प्रति दिन ६ जना जबरजस्ती करणी र ४ जना जबरजस्ती करणी उद्योगको उद्योगको उजुरी परेको छ ।

नेपाल प्रहरीका अअनुसार आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएको कुल १ हजार ४ सय ८० जबरजस्ती करणी र ७ सय ३७ जबरजस्ती करणी उद्योग मध्ये १ हजार ४ सय १६ जबरजस्ती करणी मुद्दा फर्छयौट भएको र ६४ वटा बाँकी रहेको छ ।

७ सय २४ जबरजस्ती करणी उद्योग मुद्दा फर्छयौट भएको र ३ वटा बाँकी रहेको छ । चालु आर्थीक वर्ष २०७५/७६ को मात्र ४ महिनामा कुल ७ सय ८६ जबरजस्ती करणी र ३ सय २८ जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्