Logo

यसरी उद्धार गरियो केन्याको रङ्गिला बारबाट नेपाली चेली



काठमाडौं, ३ साउन । केन्याको “न्यु रङ्गिला बार” मा मुजरा नाँच्न लगिएका थिए उनीहरु । केन्याको न्यालीमा रहेको बारमा मानव तस्करको संगठित गिरोहले पुर्याएका नेपाली चेलीहरुमाथि दुव्र्यवहारका घटना बाहिर आयो ।

केन्याको पत्रपत्रिकामा १२ जना नेपाली चेलीबाट सनसनीपूर्ण खबर बनेपछि सरकारको ध्यान गयो । एउटै अर्पाटमेन्टमा राखिने र साँझको ९ बजे बारमा पुर्याइन्थे चेलीहरु । विहान ३ बजे पुनः अर्पाटमेन्टमा फर्काइन्थ्यो ।

बार चलाएका थिए असिफ जेठा नामका केन्याली नागरिकले । बारमा यौन शोषणको विषय बाहिर आयो । मानव तस्करको संगठित समूहका नाइके जेठा केन्याको सुरक्षा निकायमा समेत प्रभाव बनाउन सकेका थिए । तर, उनी पत्रपत्रिकामा व्यापक खबर छापिन थालेपछि पक्राउ परे । उनीमाथि मानव तस्कर, मानव तसकरको प्रोत्साहन र महिलाको पासपोर्ट कब्जामा लिएकोसहित तीनवटा अभियोग लाग्यो ।

यी खबरहरु जानकारीमा आएपछि नेपाल सरकारले कुटनीतिक पहल गरेर १२ नेपाली चेलीलाई उद्दार गरेको छ । नेपाल प्रहरीका अनुसार उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवासीय राजनीतकि मिसनसम्म सम्पर्क गर्यो । केन्यामा नेपालको आवासीय दूतावास नभएकाले दक्षिण अफ्रिकास्थित नेपाली दुतावासबाट पहल भएको थियो । दुतावासले केन्याको डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्यालगायत अन्य संघसंस्थासँग सहकार्य गर्यो ।

निकै मिहेनतपछि २ साउनमा नेपाली चेली नेपाल ल्याइएको थियो । प्रहरीले अनुसन्धानका क्रममा १२ जना चेली भारतको बाटो हुँदै केन्या पुगेको खुल्न आएको छ ।

नेपाल प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान पश्चात अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रहोबरमा उनीहरुलाई ३ साउनमा आफन्तको जिम्मा लगाइएको छ । महिलाहरुलाई केन्या पुर्याइएको घटनाको अनुसन्धान जारी रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

 

कस्तो थियो रङ्गिला

रङ्गिला बारमा पैसावाल र परिचितहरु मात्र प्रवेश पाउँथे । गार्डले चेकजाँच गरेर वृस्तृत बुझेपछि मात्र प्रवेश दिन्थे । बारमा प्रवेशका लागि महङ्गो मूल्य राखिएको थियो । जहाँ यौन शोषण गरिन्थ्यो ।

बारमा महिलाहरुलाई उपनाम दिइन्थ्यो । हरेक रात निश्चित पैसा कमाउनुपर्ने वाध्यात्मक अवस्था बनाइन्थ्यो । असिको उपनामकी संजितालाई मासिक चार लाख नेपाली रुपैयाँ बराबरको केन्याको सिलिङ कमाउनैपर्ने टार्गेट दिइएको थियो ।

बारमा बस्दा नेपाली चेलीहरुको मोबाइल फोन प्रयोग वञ्चित गरिएको थियो । जसरी हुन्छ ग्राहकबाट बढी भन्दा बढी रकम धुत्न लगाइन्थ्यो । हरेक चेलीलाई दैनिक यतिसम्म पैसा उठाउनैपर्ने वाध्यता बनाइएको हुन्थ्यो ।

बारमा काम गरेवापत् हरेक चेलीले मासिक ५५ देखि ९० हजार नेपाली रुपैयाँ दिइन्थ्यो । तर, उनीहरुले १० देखि १५ हजार नेपाली रुपैयाँमात्र हातमा पाउँथे । बाँकी रकम परिवारका नाममा पठाइएको भनिन्थ्यो ।

 

कसरी लगिए केन्या

विदेश गएर पैसा कमाउने सपना देखेका नेपाली चेलीहरु म्यानपावरका दलालमार्फत् प्रक्रियामा लागे । राम्रो कमाई हुने लोभले नृत्य सिके । फोनकल र स्काइपबाट अन्तवार्ता दिए । उनीहरुको तस्वीर र वृस्तृत विवरण लिएपछि हवाइ टिकट पठाइयो । शुरुमै केही रकम पनि पठाइयो ।

पहिल्यै पैसा पाएपछि लोभ्भिएका चेलीहरु गैरकानुनी बाटो हुँदै केन्या पुगे । उनीहरु टुरिष्ट भीसामा त्यहाँ पु¥याइए । नेपाली चेलीलाई केन्या पु¥याउन नेपाल देखि केन्यासम्मको मानव तस्करको सञ्जाल संलग्न रहेका तथ्य भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्