Logo

नेकपामा जिम्मेवारी बाँडफाँट



काठमाडौं ४ साउन ।  नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन् ।

विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए । बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो । विभागको नेतृत्वसम्बन्धी सहमति आइतबार बस्ने सचिवालय बैठकमा पेस हुनेछ । ओलीले गौतमलाई पुनः आफ्नै समूहमा ल्याउन रोजेकै विभाग दिन लागेका हुन् ।

केही दिनअघि ओलीले गौतमलाई बोलाएर लामो छलफल गरेका थिए । छलफलमा ओलीले मिलेर जाने प्रस्ताव राखेका थिए । गौतमले भने सक्रिय भूमिका दिन आग्रह गरेका थिए । यसअघि ओलीले संगठन विभागमा रामबहादुर थापालाई लैजाने तयारी गरेका थिए । पूर्वएमालेको सन्तुलन नबिगार्नका लागि गौतमलाई नेतृत्व दिने निर्णयमा ओली पुगेका हुन् ।

कान्तिपुरका अनुसार विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने सहमति भएको छ । नेपालले यो विभागको नेतृत्व पहिले पनि सम्हालिसकेका छन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको छ । पूर्वएमालेको भागमा परेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई दिने समझदारी भएको छ । पूर्वमाओवादी पक्षले भने पोखरेलको नामलाई रुचाएको छैन । उसले यो विभागको नेतृत्व आफैंले पाउनुपर्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्