Logo

अमेरिकी सेना रियाद ल्याउदै साउदी राजा



रियाद, ४ साउन । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिनुभएको छ ।

साउदी प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताउनु भएको छ ।

अमेरिकी पाँच सय सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा रहने तय गरिएको दुई सुरक्षा स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानका कारण सिर्जित खतराबाट अमेरिकी स्वार्थको रक्षा गर्न अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न लागिएको जनाएको छ ।

खाडी क्षेत्रमा पानीजहाज हिँड्ने सामुद्रिक मार्गको विषयमा इरानसँग अमेरिकाको तनाव चुलिएको बेला अमेरिकाले सामरिक अर्थ राख्नेगरी अमेरिकी सेना रियाद ल्याउन लागेको हो ।

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट आफू छुट्टिएको घोषणा गरेपछि दुई देशबीच तनाव बढ्न थालेको छ ।

इराक युद्धपछि साउदी अरबले सन् २००३ देखि अमेरिकी सेना आफ्नो देशमा राखेको थिएन । त्यसअघि इराकले कुवेतमा आक्रमण गरेपछि सन् १९९१ मा साउदी अरबमा अमेरिकी सेना बस्न थालेका थिए ।



प्रतिक्रिया दिनुहोस्