Logo

चन्द्रमामा छ देशको प्रतिष्पर्धा



चन्द्रमामा छ देशको प्रतिष्पर्धा चन्द्रमामा मानव पाइला परेको ५० वर्ष पूरा भएको छ । सन् १९६९ मा चन्द्रमामा अमेरिकाले मानवसहितको यान पठाएर २० जुलाईको दिन मानव पाइला पारेर सफलता हासिल गरेपछि सन् १९७२ मा लगातार चन्द्र मिसनलाई जोड दियो ।

अमेरिका र रुसबीचको प्रतिष्पर्धाका कारण अन्तरीक्षमा दुवै देशले व्यापाक यान प्रक्षेपण गरिरहे । तर, चन्द्रमाको मिसन दशकौंसम्म सुस्त भयो ।


२१ औं शताब्दीमा आइपुग्दा चन्द्रमाको मिसनले पुनः गति पायो । मङ्गलग्रहमा समेत मानवरहित यान अवतरण भएको छ ।

पछिल्लो समय चन्द्रमाको मिसनमा अमेरिका, रुस, चीन र भारतबीच तिव्र प्रतिष्पर्धा चलिसकेको छ । चीनले चन्द्रमाको टाढाको छेउमा यान अवतरण गराएको छ । अहिलेसम्म पृथ्वीतर्फ फर्किएको क्षेत्रमा मात्र यान पुगेका थिए । चीनले पृथ्वीबाट नदेखिने क्षेत्रमा यान पठाएर नयाँ कीर्तिमान बनायो ।


भारतले चन्द्रयान २ चन्द्रमामा पठाउँदैछ । उसले चन्द्रमाको अर्को छेउ अर्थात् दक्षिणी ध्रुवमा यान अवतरण गराउने लक्ष्य लिएको छ ।
चीन चन्द्रमा र मङ्गलग्रहमा मानव पाइला पुर्याउने लक्ष्यमा छ । आर्थिक रुपमा सशक्त बनिसकेको चीनले यसका लागि अरबौं डलर खर्च गरिरहेको छ ।


अमेरिका चन्द्रमामा अबको पाँच वर्षभित्र मानव पाइला पुर्याउने लक्ष्यमा छ । उसले अबको डेढ दशकभित्र मङ्गलग्रहमा मानव पाइला पुर्याउने लक्ष्य लिएको छ । यसका लागि बजेट विनियोजनको विषय उठिरहेको छ ।

चन्द्रमामा पहिलो यान अवतरण तत्कालिन सोभियत संघले गराएको थियो । १३ सेम्टेम्बर सन् १९५९ मा उसले मानवरहित यान अतवरण गरायो । रुसले चन्द्रमाको मिसनलाई फेरि गति दिदैछ ।

कस्को मिसन के

अमेरिकाले सन् २०२४ मा मानव पाइला पुनः चन्द्रमामा पुर्याउने गरी काम थालिसकेको छ । चीन सन् २०२५ मा मानव पाइला पुर्याउन चाहन्छ । रुसले सन् २०३० लाई लक्ष्य बनाएको छ ।

भारत, जापान र इजरायलले पनि मानव पाइला चन्द्रमामा पुर्याउने लक्ष्य लिएका छन् । Cover Photo: Mukunda Kalikote; Photos: NASA and agencies



प्रतिक्रिया दिनुहोस्