Logo

नेकपाभित्र मुख्य विभागबारे व्यक्ति टुंग्याउन सकस



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र जिल्ला तहसम्मको भागवण्डा मिलेपनि महत्वपूर्ण विभागहरुमा व्यक्तिको बारे मिल्न सकेको छैन । पूर्व नेकपा एमाले र पूर्व माओवादी पक्षले कति कति संख्याको विभाग पाउनेबारे अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति बनिसकेपनि कुन विभाग कसलाई दिनेबारे टुंगो लाग्न सकेन ।

५ साउनभित्र एकता प्रक्रिया टुंगिइसक्ने सहमति बनेको भनिएपनि लामो छलफलपछि पनि बन्न सकेन । गुटगत र नेताद्वयको छलफलले पनि निष्कर्ष निकाल्न सकेन । यसको मुख्य कारण संगठन विभागको जिम्मेवारीबारे निष्कर्षमा पुग्न नसक्नु कारण देखिएको छ ।

संगठन विभागमा सबैभन्दा सशक्त दाबी वामदेव गौतमको छ । विभाग नपाए कडा रुपमा प्रस्तुत हुने गौतमले अघोषित चेतावनी दिइसकेका छन् । उनले पछिल्लो समय ओलीविरुद्ध मोर्चाबन्दीमा मुख्य भूमिका खेलिरहेका छन् । गौतमकै सहयोगमा ओलीले नेकपा एमालेको अध्यक्ष पदमा जित हासिल गरेका थिए । अहिले ओलीले बेवास्ता गरेको भन्दै उनी रुष्ट छन् ।


ओलीले गौतमलाई आफ्नो पक्षमा ल्याउन संगठन विभागको जिम्मेवारी दिनेबारे छलफल चलाएका छन् । यसो भएमा नेकपाभित्रको समिकरण बदलिन सक्छ । गौतम प्रचण्डसँग नजिकिइरहँदा प्रचण्ड पक्षका रामबहादुर थापा बादल ओलीसँग नजिकिएका छन् । बादलको पनि संगठन विभागमा दाबी छ । महासचिव विष्णु पौडेल अर्का सशक्त दाबेदार हुन् । पौडेल ओलीका सबैभन्दा विश्वासपात्र हुन् । तर, बालुवाटार जग्गा प्रकरणले उनको साख गिराएको छ ।

नेकपाको विदेश विभागमा माधवकुमार नेपालले पाउने निश्चितप्रायः भएको छ । नेपाल विदेश घुमिरहन मन पराउने नेता हुन् । झलनाथ खनालको पनि उक्त विभागमा दाबी रहँदै आएको थियो । खनाललाई नीति तथा अनुसन्धान विभागमा लैजाने तयारी भएको छ ।


स्कुल विभागमा पूर्व माओवादीको दाबी छ । तर, ओलीले इश्वर पोखरेलका लागि कुनै महत्वपूर्ण विभाग राख्नुपर्ने वाध्यता छ ।

प्रचार विभाग प्रवक्ता नारायणकाजी श्रेष्ठले पाउने अवस्था छ । अन्य विभागहरुबारे पनि व्यक्तिको टुंगो लगाउन सकस परिरहेको छ ।

ओली र प्रचण्ड लामो छलफलपछि १८ पूर्व एमालेलाई र १४ पूर्व माओवादीलाई गरी ३२ विभागको टुंगो लगाउन सफल भएका थिए । तीनवटा केन्द्रीय आयोगमा दुई पूर्व एमाले र एक पूर्व माओवादीको भागमा परेको छ । ७७ जिल्ला इञ्चार्जमा ४४ पूर्व एमाले र ३३ पूर्व माओवादीको भागमा परी व्यक्तिलाई जिम्मेवारी समेत दिइएको छ ।


केन्द्रीय विभागको संख्या टुंगो लागेपनि व्यक्ति टुंगो नलाग्दा एकता प्रक्रिया अझै मिल्न सकेको छ्रैन । ३ जेठ २०७५ मा एकता घोषणा भएपनि नेकपाको भागवण्डा मिल्न नसक्दा एकता प्रक्रियामा कठिनाई भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्