Logo

‘जामनः गुभाजु’ ऐतिहासिक कथा, जीवन्त अभिनय



श्याम रिमाल

काठमाडौं, साउन ६ । सिद्धहस्त एक तान्त्रिकको जीवनीलाई लिएर नेपालभाषामा बनेको चलचित्र ‘जामनः गुभाजु’ गत वर्ष मङ्सिर ८ गतेदेखि हालसम्म लगातार चलिरहेको छ । अब चलचित्रले ५१ शो मनाउने तयारी पनि गर्दैछ ।

आदिवासी जनजातीय चलचित्र हुनाले बक्स अफिसमा पर्न नसकिएको भनिए पनि प्रायः शनिबारजसो मात्र प्रदर्शन हुने पाएको चलचित्रले नौ महिनाको अवधिमा करीब सात हजार दर्शक भने पाइसकेको छ । आफ्नै समाजको मौलिक कथा र अभिनय बोकेको चलचित्र राष्ट्रिय चलचित्र पुरस्कारमा नपरे पनि एभरेष्ट इण्टरनेशनल फिल्म अवार्डको मनोनयनमा भने पर्न सफल भएको छ ।

कथा अठारौँ शताब्दीको हो । प्रताप मल्ल ९जन्म विसं १६८०, राज्यकाल विसं १६९८–१७३१०का पालाका जामनः गुभाजुमा दुनियाँलाई चकित पार्ने शक्ति थियो । उनी बेलाबेलामा राजपरिवारका साथै जनताको हात हेर्ने र झारफुक गर्ने कामबाट रोगव्याधि निको त पार्थे नै डोकामा पानी भर्ने जस्ता काम गरेर अचम्मै पार्थे ।

जप, तप, ध्यान, योग, समाधि, पुरश्चरण आदिमा नित्य संलग्न उनले बिरामीलाई झारफुक गर्ने तथा शिशुहरुलाई घरमै पढाउने पनि गर्थे ।लगनटोल नजीक ब्रह्मटोल, मुसुम्बहालका गुभाजुले महिलालाई बोक्सी लगाउने पुरुषलाई चिनी फेरि त्यसो नगर्न वाचा गराउँथे भने भरिएको गाग्रीसमेत नछोईकन खाली गराउन सक्थे ।

मिथक वा किंवदन्तीजस्तै बनेका र ‘कमिक्स’मा मात्र सीमित ऐतिहासिक पात्र जामन गुभाजुलाई करीब दुई घण्टामा चिनाउन तथा उनको तन्त्रसाधनाको प्रभाव र अवस्था संकिपामा देखाउन निर्देशक रवि सायमीको टोलीले तीन वर्षभन्दा बढी समय लगायो । कथानक चलचित्रमा यो नै उहाँको पहिलो निर्देशन हो ।

जेस्सी पेन्नी इण्टरटेन्टमेण्ट प्रालि र वाइल्ड बुल्स प्रोडक्सन ९राजेन्द्रभक्त श्रेष्ठ र मन्दिरा मानन्धर०ले संयुक्त रुपमा निर्माण गरेको ‘जामन गुभाजु’का प्रमुख पात्र सुशील राजोपाध्याय भन्नुहुन्छ, “सुनिरहेकै कथा भएकाले मलाई चलचित्रमा अभिनय गर्न गाह्रो भएन ।”

विसं २०३८ देखि डबलीहरुमा नाटक र २०६१ देखि पर्दामा देखिनुभएका र जामन गुभाजुको कथा, पटकथा र संवाद लेख्नुभएका यसअघि ‘माया रे रत्न’, ‘हाकु सुपाय्’ कालो बादल, च्वापु फय्’ हिमआँधी, ‘कीर्तिपुरः द लिजेण्ड अफ कीर्तिलक्ष्मी’, लगायत २५ नेपालभाषी र नेपाली चलचित्र पाँच गरी करीब ३० वटामा अभिनय गरिसक्नुभएको छ ।

जामनः गुभाजु चलचित्रमा गुभाजुकी पत्नीको भूमिका सरस्वती मानन्धर र राजा प्रताप मल्लको भूमिका पत्रकार पुष्कर माथेमाले निर्वाह गर्नुभएको छ । अन्य पात्रमा उदेन न्हुँसायमी, साकार पन्त आदि हुनुहुन्छ । “भूमिका च्यालेञ्जिङ भए पनि राम्रै गरेँजस्तो लाग्छ, केही प्राविधिक कुरा अमिल्दो भए पनि दर्शकले मन पराइदिएकामा खुशी नै छु”, नायक राजोपाध्यायले भन्नुभयो ।

काठमाडौँ, बन्दिपुर, चित्लाङ र सौराहा हुस्सुका लागिमा छायाङ्कन गरिएको सो चलचित्रका गुभाजु पात्र राजोपाध्याय, उनकी पत्नी बनेकी सरस्वती मानन्धर र अन्य पात्रको जीवन्त र स्वाभाविक अभिनय छ । तत्कालीन गीत र नृत्य सुहाउँदिला छन् । छायाङ्कन भवानी शिलाकार, सङ्गीत बालकृष्ण वंशी तथा गायन गौतमदास मानन्धर, रत्नशोभा महर्जन, सतीश महर्जन, सरिता शाही र दीपेन्द्र वज्राचार्यको छ ।

नेपालभाषा नबुझ्नेले पनि अङ्ग्रेजी सबटाइटलबाट कथा राम्ररी बुझन् सक्छन् । यसअघि थुप्रै म्युजिक भिडियो निर्देशन र छायाङ्कन गरिसक्नुभएका र प्रस्तुत चलचित्रका निर्देशक रवि सायमी भिज्युअल एफेक्ट र कलर ग्रेडिङबाट चलचित्रमा तत्कालीन परिवेशलाई देखाउन सकिएको बताउनुहुन्छ ।

गोरखा भूकम्पबाट ढलेको काष्ठमण्डप र अन्य सम्पदा, डोकामा पानी भराइ, चिलको रुप भिएफएक्स प्रविधिबाट गरिएको हो । चलचित्रमा भारतबाट आएका एक चटकेले जादु देखाएर केटाकेटीलाई भाँडेको र धन असुलेको देखी गुभाजुले डोकामा पानी भरेर चटकेसामु प्रस्तुत गरेका थिए ।

चटकेले आफ्नो मन्त्रले डोकाको पानी झारेपछि गुभाजुले चील बनेर चटकेले बालकको झिकेको मुटु उडाएर लगेका थिए भने रुखलाई खुट्टाका औँलाले नुहाएर भेंडाबाख्रालाई घाँस खुवाउने जस्ता काम देखाएका थिए । गुभाजुकी श्रीमतीले गोडा बालेर रक्सी पारेको घटना त झन् अद्भुत छ ।

उनले खडेरी लागेका बेला कोही व्यक्ति जान नसक्ने स्वयम्भूस्थित शान्तिपुरमा राजालाई पठाई भित्रबाट नवनागको रगतबाट लेखिएको एक ग्रन्थ पौभा निकाल्न लगाएका थिए जसबाट वर्षा भएको थियो । आगमघरमा जनताको सुखका लागि पुरश्चरणमा बसेका गुभाजु धेरै समयसम्म नफर्केकाले पतिको वाचा तोडी गुभाजुपत्नी भित्र पस्दा गुभाजुले शरीर छाडिसकेका थिए । उनको दाहसंस्कार भयो ।

दाहसंस्कारपछि पनि उनलाई स्वयम्भूबाट फर्केको देखेर मानिसहरु अचम्भित भए । त्यसैले उनले शरीर सधैँका लागि त्यागिदिए तर उनले देहत्याग गर्नुअघि भनेका थिए, “जबसम्म यहाँ काँ९अन्धो, खु लँगडो र ढुसी९कुप्रो० मानिस हुन्छन्, तबसम्म म मरेकोे हुन्न ।” चलचित्र निर्देशक सायमीका अनुसार जामन गुभाजुको टोलमा अहिले पनि दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति र कुप्रो व्यक्ति भएकाले उनी अहिले जीवित ठानी वर्षको एक पटक टोल र स्वयम्भूमा उनको पूजा गरिन्छ ।

कुमारीघर, बाह्रवर्षे इनार जप तुँ र कङ्केश्वरीबाट सुरुङ हुँदै शान्तिपुर पुग्न सकिने भनाइ छ । त्यतिबेला नाम चलेका तान्त्रिकमा सुरत वज्र, लीला वज्र, शाश्वत वज्र, मञ्जु वज्र थिए । मञ्जु वज्र नै जामन गुभाजु हुन् । गोरखनाथ र बन्धुदत्त पनि कुनै समयका सिद्ध र तान्त्रिक नै थिए । वज्रयान र तान्त्रिक शक्तिको कथा बोकेको यो चलचित्र अन्तरराष्ट्रियस्तरमा लैजान सक्ने पनि देखिएको छ ।

गोसाइँकुण्ड तीर्थस्थलको कथा समेटेको ‘शिलु’पछि राजमती, पटाचारा, कृषा गौतमी, टुटाँ लौरो, ‘अन्ज मिखा’गाजलु आँखा आदि नेवारी चलचित्र प्रदर्शनमा आएका छन् र यस्ता चलचित्र बन्ने क्रम अघि बढ्दैछ । यसअघि सिटीम्याक्स बागबजार, गुण ग्वार्को, बाराही मुभी भक्तपुर र राइजिङ मल कमलादीमा शनिबारजसो प्रदर्शन भइसकेको चलचित्र यही साउन ११ गते नेवारी बस्ती साँखु र साउन ३० गते जनैपूर्णिमामा टोखामा प्रदर्शन हुने राजोपाध्यायले बताउनुभयो ।

नेपालका मौलिक कथामा बन्ने यस्ता चलचित्रलाई बक्स अफिसमा पार्नुपर्ने देखिन्छ । धेरै वर्ष अध्ययन अनुसन्धान गरेर प्राकृतिक परिवेश र वेशभूषा आदिलाई जस्ताको तस्तै छायाङ्कन गरी पात्रहरुलाई जीवन्त अभिनय गराएको चलचित्रलाई पनि पुरस्कारमा पार्न सके राष्ट्रिय चलचित्र पुरस्कारको पनि गरिमा बढ्ने हुन्छ ।

चित्रकार तथा चलचित्रका दर्शक जीवन राजोपाध्याय मुख्य पात्र राजोपाध्याय र उनकी पत्नी बन्नुभएकी मानन्धरको अभिनयमा जीवन्तता भेटिने बताउनुहुन्छ । आदिवासी जनजातिको मातृभाषामा कम लगानीमा आफ्नो सीमिततामा निर्माण भएको यो चलचित्रले यतिसम्म गर्नु राम्रो नै मान्नुपर्ने उहाँको विचार छ । “राज्यले नेपालीभाषीबाहेक अन्य मातृभाषी चलचित्रलाई पनि ध्यान दिनु राम्रो हुन्छ । नेपालीभाषीसरह तिनलाई पनि राज्यले समान व्यवहार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्